काठमाडौं । कोकिनसहित पक्राउ परेका तीन जनालाई अदालतले सामान्य धरौटीमा छाडेको छ। सिन्धुपाल्चोकका दिनेश चालिसे, ललितपुरका सुव्रत अधिकारी र गोमा श्रेष्ठ बिहीबार धरौटीमा छुटेका हुन्।

गत असार २० गते ७५ ग्राम कोकिनसहित पक्राउ परेका उनीमध्ये सुव्रत एक लाख, दिनेश ७५ हजार र गोमा १० हजार धरौटीमा छुटेका हुन्। जबकि दिनेशको साथबाट कोकिन बरामद भएको थियो भने सुव्रत कारोबारी नै भएको प्रहरी अनुसन्धानले देखाएको थियो।

कोकिनजस्तो गम्भीर मुद्दामा संलग्न आरोपी धरौटीमा छुटेपछि प्रहरी अधिकारीहरूले आश्चर्य व्यक्त गरेका छन्। सो मुद्दामा पक्राउ परेका नवलपरासीका सत्येन्द्रकुमार भट्ट र सप्तरीका प्रकाश यादव भने जेल चलान भएका छन्। न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले यस्तो आदेश दिएको हो।

प्रहरी वृत्त मालीगाउँले नक्सालस्थित भगवती इन होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। व्यापारी दिनेश चालिसे होटलमा दुई युवती राखेर लागुऔषध सेवन गर्दै गर्दा पक्राउ परेका थिए। थप लागुऔषध मगाउने क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ।

यसपछि प्रहरीले सो गिरोहसम्मको नसो पत्ता लगाएको थियो, जसमा प्रकाश यादवलाई कोकिन बेच्ने विजय कार्की र भारतीय नागरिक श्रीयान्स एडुकियाको संलग्नता खुलेको हो। कार्की पक्राउ परे पनि एडुकिया भने फरार छन्।

प्रहरीले उनीहरूमाथि समेत मुद्दा चलाउन सिफारिस गरे पनि सरकारी वकिलले उन्मुक्ति दिएको आरोप लागेको छ। प्रहरी अधिकारीहरूले मिलेमतोमा उन्मुक्ति दिइएको शंका व्यक्त गरेका छन्।

यसैबीच, दिनेश चालिसे भेप तस्करीसहित अन्य आपराधिक गतिविधिमा संलग्न रहेको र उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा समेत तान्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय