
सुनसरी । झुम्का कारागारमा कैदीबन्दीबीच उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षण देखिएपछि चार दिनमै तीन कैदीको मृत्यु भएको छ।
बुधबार मृत्यु हुनेमा सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादव रहेका छन्। जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका यादवलाई दिउँसो स्वास्थ्य अवस्था बिग्रिएर बेहोस भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। उपचारकै क्रममा साँझ उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

यसअघि सोमबार दुई कैदीको ज्यान गएको थियो। मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव र धरान–१० का २४ वर्षीय सागर राई थिए। उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको कैद सजाय भोगिरहेका थिए भने राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए।
उराँवलाई शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी प्रतिष्ठान लगिएको थियो भने राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि अस्पताल पुर्याइएको थियो। दुबैको सोमबार बिहान उपचारकै क्रममा मृत्यु भएको थियो।
लगातार मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीले तत्काल कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बुधबार रातिदेखि सुरु भएको शिविरअन्तर्गत बिहीबार बिहानसम्म ५५३ कैदीको स्वास्थ्य परीक्षण भइसकेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिमल्सिनाले जानकारी दिए।
उनका अनुसार हाल झुम्का कारागारका ए र बी गरी दुई ब्लकमा १ हजार ७९४ जना कैदी रहेका छन्। परीक्षणपछि मात्रै बिरामीको वास्तविक कारण स्पष्ट हुने उनले बताएका छन्।



