अर्घाखाँची — अर्घाखाँचीमा एक युवकले आफ्नै पत्नीको हत्या गरी घरको भान्साकोठामा खाडल खनी गाडेको अभियोगमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, जिल्ला प्युठान नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ स्थायी घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा बस्दै आएका ३६ वर्षीय किरण गुरुङले आफ्नी ३४ वर्षीया पत्नी सुमित्रा कुमाल गुरुङको हत्या गरेका हुन्। उनीहरू ९ वर्षीया छोरी सरुसहित सोही घरमा बस्दै आएका थिए।

सुमित्रा गुरुङ ४/५ दिनदेखि हराएको भन्दै माइती पक्ष र छिमेकीले २०८२ भदौ १६ गते प्रहरी चौकी बल्कोटमा जानकारी गराएका थिए। खोजतलासको क्रममा प्रहरी टोलीले सोही दिन राति करिब ८:३० बजे सुमित्राको शव घरको भान्साकोठामा गाडिएको अवस्थामा फेला पारेको हो। शवलाई उत्खनन गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, मिति २०८२ भदौ १२ गते राति करिब १२ बजे पति–पत्नीबीच सामान्य विवाद भएपछि किरण गुरुङले बाँसको लाठी र हँसियाको पछाडिको भाग प्रयोग गरी श्रीमतीलाई कुटपीट गरी हत्या गरेका थिए। त्यसपछि उनले शवलाई कम्बलमा बेरेर भान्साकोठामा खाडल खनी गाडेका थिए।

अनुसन्धानमा खुलेका थप विवरणअनुसार, किरण र सुमित्रा करिब १० वर्षअघि प्रेम सम्बन्धमा परेपछि दोस्रो विवाह गरेका थिए। उनीहरूको ९ वर्षीया एक छोरी छ भने किरणको पूर्वपत्नीबाट २ छोरी र सुमित्राको पूर्वपति बाट ३ छोरी रहेका छन्। हत्या हुने राति किरण गुरुङले मादक पदार्थ सेवन गरेको पनि खुलेको प्रहरीले जनाएको छ।

आरोपीलाई भदौ १६ गते पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको हिरासतमा राखिएको प्रवक्ता सूचना अधिकारी झलक शर्माले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय