काठमाडौँ —आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखका रूपमा रहेका एआईजी खापुङ नयाँ आईजीपी हुने भएका छन् ।

यससँगै उनी भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२औं महानिरीक्षकका रूपमा जिम्मेवारी सम्हाल्नेछन् । तेह्रथुममा जन्मिएका खापुङ २०५२ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

५५ वर्षीय खापुङ यसअघि प्रधानमन्त्रीको सुरक्षा प्रमुख, प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन प्रमुख, काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा समेत कार्यरत रहिसकेका छन् । उनी दुईपटक संयुक्त राष्ट्रसंघीय मिसन (हाइटी) मा समेत खटिएका थिए । इटाली, कोरिया, भियतनाम र चीनबाट विभिन्न सुरक्षासम्बन्धी तालिम लिएका उनले लामो अनुभव प्राप्त गरेका छन् ।

यसैबीच, भदौ १८ मा आईजीपी दीपक थापा, एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी सेवा अवधिका कारण अवकाशमा जानेछन् । अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल भने उमेरहद पुगेकाले भदौ १४ मै अवकाश हुँदैछन् । यी उच्च अधिकारीहरूको अवकाशपछि डिआइजी पदधारीहरू एआईजीमा बढुवा हुनेछन् भने असोजसम्म पाँच एसएसपीलाई डिआइजीमा बढुवा हुने अवसर खुल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय