
महोत्तरी — भारतबाट नेपाल तस्करी गरिएको संचार सम्बन्धि उपकरण बरामद भएपछि अनुसन्धानको चासो बढेको छ। के उद्देश्यले र कसले यस्तो सामान नेपालमा ल्याइरहेको हो भन्ने विषयमा विस्तृत छानबिन सुरु गरिएको छ।
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९, रातु खोला स्थित बगर इलाकाबाट सशस्त्र प्रहरीले मंगलबार ४६ लाख ५० हजार रुपैयाँ बराबरको रेडियो रिसर्च यूनिट (आरआरयू) बरामद गरेको हो। २३ सय मेगाहर्ज क्षमताको सो उपकरण आयातको कारण खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ।

मधेश प्रदेशका सशस्त्र प्रहरी एसपी शेरबहादुर अधिकारीको निर्देशनअनुसार मधेश प्रदेश ०२–००१ स ५२४८ नम्बरको ई–रिक्सामा लोड गरी राखिएको आठ वटा संचार सेट बरामद भएको हो। यी सेटसँग आवश्यक कागजात तथा बिलबिजक समेत थिएनन्।
सामान स्वीडेनबाट कोलकात्तामा आएको र त्यहाँबाट नेपालमा तस्करी गरिएको प्रमाण सशस्त्र प्रहरीले पाएको छ। बरामद सामान टेलिकम कम्पनीका टावरमा प्रयोग हुने भए पनि गैरकानुनी प्रयोजनका लागि तस्करी भएको आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानले तस्करी गर्ने व्यक्तिको ठेगाना नयाँ दिल्लीमा रहेको खुलेको छ।
बरामद सामान र रिक्सा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरीका सहसप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। साथै, बरामद सामानको विषयमा अध्ययन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि पत्राचार गरिएको छ।



