
काठमाडौं । जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी खरिद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल गाउँपालिका घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।

यसअघि साउन २३ गते चितामा जल्दै गरेको अवस्थामा शवबाट हड्डी निकालेर बेच्ने काभ्रे बनेपा नगरपालिका–९ का गणेश प्रसाद ढकाल र उनका सहयोगी विनायक मैनाली पक्राउ परेका थिए। उनीहरूले राम शाहीको शव जलाउने क्रममा हड्डी निकालेको आरोप छ। प्रारम्भिक अनुसन्धानमा हड्डी ५०० रुपैयाँमा अर्का व्यक्तिलाई बिक्री गरिएको खुलेको प्रहरीले जनाएको छ।
ढकाल २५ वर्षदेखि पशुपतिमा शव जलाउने काम गर्दै आएका थिए। एउटा शव जलाएबापत उनी पशुपति विकास कोषसँग १५०० रुपैयाँ लिने गरेको प्रहरीको भनाइ छ।
प्रहरीले ठाकुरको साथबाट प्लास्टिकमा पोको पारी राखिएको हड्डीको धुलो र खरानी बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान प्रहरीले गौशाला वृत्तमार्फत अघि बढाइरहेको छ।



