काठमाडौं । कार्यकाल सकिन लागेका प्रहरी नेतृत्वले अवधि पूरा हुन केही समय बाँकी रहेका अधिकृतहरूको सरुवा तयारी गरेपछि गृह मन्त्रालयले त्यसलाई रोक लगाएको छ।

गत वर्ष भदौ १९ मा सरुवा भएका इन्स्पेक्टर र त्यसपछिका सरुवामा विभिन्न जिल्लामा इञ्चार्ज रहेका डीएसपीहरूको सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारीलाई मन्त्रालयले रोक्न निर्देशन दिएको हो। प्रहरी सेवा नियमावलीअनुसार सामान्यतया एक वर्ष अवधि नपुगी सरुवा गर्न नमिल्ने व्यवस्था छ।

तर, भदौ १८ गते अवकाश हुने केन्द्रीय प्रहरी नेतृत्वले भदौ १९ र त्यसपछि मात्र एक वर्ष पूरा हुने इन्स्पेक्टर र डीएसपीहरूको सरुवा गर्न तयारी गरिरहेको थियो। आर्थिक प्रभावमा विभेदपूर्ण सरुवा हुन लागेको भन्दै डीएसपी र इन्स्पेक्टरहरूको टोलीले गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दवाडीसँग गुनासो गरेपछि मन्त्रालयले ‘अति जरुरीबाहेकका काम नगर्न’ प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो।

सो निर्देशनपछि मंगलबार बढुवा भएका एसएसपी, एसपी र डीएसपीहरूको पदस्थापन र केही दरबन्दी मिलान गर्न बाँकी एसपी तथा डीएसपीको सरुवा मात्र प्रकाशित गरिएको थियो। त्यसपछि इञ्चार्जको जिम्मेवारीमा रहेका डीएसपी र इन्स्पेक्टरहरूको ठूलो संख्यामा सरुवा गर्ने तयारी भइरहेको थियो।

वर्तमान प्रहरी नेतृत्वको कार्यकाल सकिनुअघि संसदमा विचाराधीन प्रहरी विधेयक पारित हुने सम्भावना प्रायः शून्य छ। यदि विधेयक पारित भई नयाँ ऐन जारी हुने भए ३० वर्षे सेवा अवधि हट्ने र जागिर अवधि लम्बिने सम्भावना थियो। अब त्यस्तो सम्भावना अन्त्य भएपछि छोटो कार्यकालमा स्वार्थवश ठूलो संख्यामा सरुवा निकाल्दा आर्थिकलगायतका विसंगति आउनसक्ने गृह मन्त्रालय स्रोतले जनाएको छ।

वर्तमान आईजीपी दीपक थापा चैत ४ गते ३१औँ आईजीपी नियुक्त भएका थिए। विद्यमान प्रहरी ऐनअनुसार भदौ १८ मा आईजीपी थापा, एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश हुँदैछन्। त्यसभन्दा पहिले उमेरहदका कारण एआईजी कृष्णहरि शर्मा भदौ १५ मै अवकाश हुँदैछन्।

उनीहरू अवकाश भएपछि ३२औँ आईजीपीका रूपमा सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङ नियुक्त हुने सम्भावना छ, जसले करिव तीन महिना संगठनको नेतृत्व गरेपछि कात्तिक २६ मा अवकाश पाउनेछन्। हाल विभागमा खापुङबाहेक ३२औँ आईजीपीका अन्य दावेदार छैनन्।

अवकाशपूर्व मनोमानीपूर्ण सरुवा र बढुवा गर्ने पुरानो प्रवृत्ति दोहोरिन सक्ने संकेत पाएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई सचेत गराएको हो। यद्यपि, आईजीपी थापाले इन्स्पेक्टर दर्जामा कार्यरत आफ्ना भाइ रमेश थापालाई गत जेठमै प्रहरी प्रभाग साँखुको इञ्चार्ज बनाइसकेका छन्। साथै, वरिष्ठ सई रहेकी बहिनी, ज्वाइँसहित परिवारका सबै सदस्यलाई आकर्षक जिम्मेवारी दिइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय