
काठमाडौं । बढुवा भएको एक सातापछि पनि नेपाल प्रहरीका एसपी र डिएसपीको पदस्थापन टुंगो लाग्न सकेको छैन। पदस्थापनसँगै सरुवा पनि गर्नुपर्ने भएकाले प्रक्रिया ढिलाइ भएको हो।

स्रोतका अनुसार गृह मन्त्रालयको हस्तक्षेपका कारण सरुवा–पदस्थापन अस्वाभाविक रूपमा ढिलो भएको हो। यसपटकको सरुवा सूचीमा डडेल्धुराका डिएसपी सुगन्ध श्रेष्ठसहित मुगुका सरोज गिरी, मुस्ताङका सूर्यबहादुर बोगटी, पर्वतका रविन विष्ट, भोजपुरका युवराज तिमल्सिना, बैतडीका मकेन्द्रकुमार मिश्र, खोटाङका प्रतीक विष्ट, दार्चुलाका प्रकाश दाहाल, प्युठानका दीपेश बस्याल, संखुवासभाका दक्षकुमार बस्नेत, कालीकोटका टेकबहादुर राउत, तेह्रथुमकी चिनिमाया तामाङ, अर्घाखाँचीका चक्रबहादुर मल्ल र पाँचथरका कौशलकुमार बुढाथोकी रहेका छन्।
प्रहरी महानिरीक्षक दिपक थापाले कार्यक्षमताका आधारमा सूची तयार पारे पनि गृह मन्त्रालयले नेता र बिचौलियाको सिफारिसमार्फत हस्तक्षेप गरेको आरोप लागेको छ।



