
ओखलढुंगा — आफ्नै हाकिमसँग यौन सम्बन्ध राख्न १३ वर्षीया बालिकालाई फकाउने कार्यमा संलग्न एक कार्यालय सहयोगी प्रहरीको फन्दामा परेकी छिन् भने कार्यालय प्रमुख फरार रहेका छन्।

जिल्ला खेलकुद विकास समिति, ओखलढुंगाकी कार्यालय सहयोगी प्रमिला विश्वकर्मालाई विभिन्न प्रलोभन देखाएर बालिकालाई यौन प्रस्ताव गरेको आरोपमा साउन २१ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।
बालिकाले दिएको जाहेरीका आधारमा बालयौन दुराचारको कसुरमा उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा विश्वकर्माले कार्यालय प्रमुख बालकुमार खनालका लागि बालिका फकाएको बयान दिएको प्रहरीले जनाएको छ।
यसै आधारमा खनालविरुद्ध साउन २५ गते पक्राउ पुर्जी जारी भएको भए पनि उनी अहिलेसम्म फरार छन्।



