
धरान — सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान बस र माइक्रोबस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

उनका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी छ भने घाइतेहरूलाई इनरुवा, विराटनगर न्युरो, र नोबेल अस्पतालमा उपचार भइरहेको छ। बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



