पर्सा — पर्सा प्रहरीले गत असार १७ गते वीरगन्जका विभिन्न स्थानबाट स्रोत नखुलेको ठूलो रकमसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका–२ का २६ वर्षीय अनिलकुमार वर्णवाल, वीरगन्ज–३ आदर्शटोलका २३ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ का ४४ वर्षीय दीपकप्रसाद सोनार रहेका छन्।

प्रहरीका अनुसार वर्णवालसँग मकालु चोकमा कालो ब्यागभित्र लुकाइछिपाई राखेको अवस्थामा ९ लाख ४७ हजार रुपैयाँ, श्रीवास्तवसँग कृषि विकास बैंक लिंकरोडमा कालो ब्यागमा लुकाइराखेको अवस्थामा १५ लाख ८१ हजार रुपैयाँ, र सोनारसँग वीरगन्ज–१६ रजतजयन्ती चोकमा ना. १६ प २३२८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा तीन लाख रुपैयाँ बरामद भएको हो।

प्रहरी नायब उपरीक्षक (प्रनाउ) किशोर लम्सालका अनुसार पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम हुण्डीसम्बन्धी कारोबारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

पर्सामा पछिल्लो चार आर्थिक वर्षमा अवैध तथा वित्तीय (हुण्डी) कारोबारमा ६७ जना पक्राउ परेका छन्। तीमध्ये ४६ जनामाथि मुद्दा दर्ता भएको र उनीहरूको साथबाट कुल ४ करोड ८६ लाख ७८ हजार ६२० रुपैयाँ बरामद भएको लम्सालले बताए।

चार वर्षको तथ्यांक

  • आर्थिक वर्ष २०७८/०७९ मा २२ जना पक्राउ (१४ जनामाथि मुद्दा), १० नेपाली र १२ विदेशी, बरामद रकम: १ करोड ६५ लाख १३ हजार ६२० रुपैयाँ।
  • आर्थिक वर्ष २०७९/०८० मा २२ जना पक्राउ (१७ जनामाथि मुद्दा), १६ नेपाली र ६ विदेशी, बरामद रकम: १ करोड ९३ लाख ६६ हजार ३०० रुपैयाँ।
  • आर्थिक वर्ष २०८०/०८१ मा ११ जना पक्राउ (७ जनामाथि मुद्दा), बरामद रकम: ६१ लाख २४ हजार ७०० रुपैयाँ र ९८ हजार भारतीय रुपैयाँ।
  • आर्थिक वर्ष २०८१/०८२ मा १२ जना पक्राउ (८ जनामाथि मुद्दा), ९ नेपाली र ३ विदेशी, बरामद रकम: ६६ लाख ७४ हजार रुपैयाँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय