बाजुरा — बडीमालिका नगरपालिकास्थित विष्णुपानी क्षेत्रमा भीरमा लडेर मृत्यु भएका दुई जना तीर्थयात्रीको शव नेपाली सेनाले उद्धार गरेको छ।

साउन २२ गते साँझ करिब ६ बजे बडीमालिका दर्शन गरेर फर्कने क्रममा काठमाडौंको गोकर्णश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै, बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी साउन २४ गते भीरबाट लडेर घटनास्थलमै मृत भेटिएका हुन्।

दुवै जनाको शव बडीमालिका क्षेत्रको विष्णुपानी भीरमा अड्किएका थिए। भौगोलिक कठिनाइका कारण स्थानीय प्रहरी तत्काल उद्धार गर्न नसकेपछि नेपाली सेना खटिएको थियो। सेनाको उद्धार टोलीले स्थानीय र नेपाल प्रहरीको सहकार्यमा शनिबार साँझ शव निकाल्न सफल भएको ईश्वरीबक्स गुल्मका गुल्मपति कृष्ण तिमिलसेनाले जानकारी दिए।

उद्धारपछि शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ। गुल्मपति तिमिलसेनाका अनुसार भीरको अप्ठ्यारो भू–भागका कारण शवलाई पहिलो दिन आधा बाटोसम्म मात्र ल्याउन सकिएको थियो। आइतबार बिहानदेखि स्थानीयको सहयोगमा तलतिर ल्याउने काम जारी छ। खराब मौसमका कारण हेलिकप्टरमाथि पुग्न नसकेकाले तल ल्याएर पठाउने तयारी गरिएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय