
रुपन्देही । कारागार कार्यालय रुपन्देहीले पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सुरक्षाका कारण छुट्टै कोठामा बसोबासको व्यवस्था गरिएको जनाएको छ।
कारागार प्रशासक सुरेश भण्डारीद्वारा जारी गरिएको विज्ञप्तिमा सहकारी ठगीसम्बन्धी मुद्दामा थुनुवाका रूपमा विगत चार महिनादेखि कारागारमा रहेका लामिछानेलाई सुरक्षालाई मध्यनजर गर्दै छुट्टै कोठामा राखिएको उल्लेख गरिएको छ।

कारागार प्रशासनले नियमित रूपमा लामिछानेसँग भेटघाट गरी समस्या तथा आवश्यकताहरूको बारेमा जानकारी लिने र ती समस्याको समाधान गर्न आवश्यक पहल गरिरहेको जनाएको छ। कारागारका अनुसार लामिछानेलाई अन्य सामान्य कैदीहरूले पाउने सेवा तथा सुविधामा कुनै विभेद नगरिएको र सोही अनुसार सुविधा प्रदान गरिएको छ।
साथै, बाह्य व्यक्तिसँगको भेटघाट तथा सञ्चार सुविधासमेत लामिछानेको व्यक्तिगत इच्छाअनुसार मात्र उपलब्ध गराउने व्यवस्था गरिएको कारागार पक्षले स्पष्ट पारेको छ।
हालै लामिछानेबारे सञ्चारमाध्यममा आएका विभिन्न समाचारहरूका सन्दर्भमा कारागार प्रशासनले विज्ञप्तिमार्फत संवेदनशील विषयमा समाचार प्रकाशन गर्दा पुष्टि भएको तथ्यका आधारमा मात्रै सम्प्रेषण गर्न मिडियालाई आग्रह गरेको छ।




