
काठमाडौँ । प्रहरीले काठमाडौं उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको अभियान तीव्र पार्दै जाने स्पष्ट पारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार गुण्डा गतिविधि नियन्त्रण गर्न व्यापक रूपमा अपरेशन जारी रहेको छ।
“गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्,” उनले भने, “काठमाडौँमा यस्ता अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूको नामावली सङ्कलन भइसकेको छ। खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ।”

यही अभियान अन्तर्गत प्रहरीले शुक्रबार काठमाडौँको महराजगञ्जस्थित होटल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधिको आरोपमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
एसएसपी अधिकारीका अनुसार बाँकी २८ जनालाई प्रहरीमा हाजिर हुने सर्तमा रिहा गरिएको छ तर उनीहरूमाथिको अनुसन्धान भने यथावत् रहेको छ।
“उनीहरूमाथि अन्य उजुरीहरू आउन सक्ने सम्भावना छ,” अधिकारीले बताए, “जो कोहीले पनि उजुरी दिन सक्नुहुन्छ, उनीहरू अन्य के–के अपराधमा संलग्न छन् भनेर पनि अनुसन्धान भइरहेको छ।”
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहकार्यमा सञ्चालन भइरहेको यो अपरेशन ‘गुण्डा गतिविधिमुक्त काठमाडौँ’ बनाउने प्रहरीको रणनीतिक प्रयासको एक भाग भएको जनाइएको छ।



