काठमाडौँ — जिल्ला प्रहरी परिसर, काठमाडौँले कुख्यात गुन्डा नाइके मिलन चक्रे (मिलन गुरुङ)लाई झण्डै ५० जना सहयोगीसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिहीबार राति काठमाडौँको महाराजगञ्जस्थित साम्बाला होटलमा बर्थडे पार्टीका नाममा भेला भएका गुन्डाहरूलाई छापा हानी नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये धेरै जना विभिन्न अपराधमा संलग्न ‘मोस्टवान्टेड’ सूचीका व्यक्ति रहेको प्रहरीले जनाएको छ।

उक्त पार्टीमा संगठित अपराध, डर-धम्की, अवैध रकम संकलन, र भौतिक आक्रमणजस्ता आपराधिक गतिविधिमा संलग्न समूहको उपस्थिति रहेको सूचनाका आधारमा प्रहरीले कार्यवाही गरेको हो।

प्रहरी अनुसन्धानका अनुसार मिलन चक्रे एमालेका केही नेताको संरक्षणमा रहँदै राजधानी उपत्यकामा गुण्डागर्दी, फिरौती असुली, डर देखाएर कमाइ गरिरहेको आरोप छ। कमाइको अवैध रकम उनले बाँके, दाङ लगायतका जिल्लामा आफ्ना समर्थकमार्फत लगानी गरेको खुलेको छ। राप्ती नदीको बालुवा, ढुंगा उत्खनन व्यवसायमा समेत चक्रेको संलग्नता देखिएको छ।

यसअघि पनि मिलन चक्रे २०७४ साल वैशाख २६ मा महाराजगञ्ज क्षेत्रबाट पक्राउ परेका थिए तर केही समयपछि छुटेका थिए।

यस्तै, प्रहरीले साउन १५ गते बुधबार बिहान ठमेलको एक दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ ‘सानु भाइ’ लाई पनि पक्राउ गरेको थियो। नुवाकोट ककनी गाउँपालिका–५ घर भई हाल टोखा सूर्यदर्शन हाइटमा बसोबास गर्दै आएका सानु भाइ प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन्।

उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङका अनुसार महाराजगञ्ज र ठमेल क्षेत्रबाट अवाञ्छित गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा गरिएको यो कारवाहीप्रति सर्वसाधारणदेखि प्रहरी संगठनसम्मबाट प्रशंसा गरिएको छ। राजधानीलाई सुरक्षित र अपराधमुक्त बनाउनेतर्फ यो कारवाहीलाई महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

पछिल्लो समय कुनै ठोस आपराधिक क्रियाकलापमा प्रत्यक्ष संलग्नता नदेखिए पनि मिलन चक्रेको गतिविधिप्रति प्रहरी सतर्क थियो। तर, उनलाई नियन्त्रणमा लिने वा नलिने भन्ने विषयमा प्रहरी अधिकारीहरू अन्योलमा थिए।

यसैबीच, काठमाडौंको महाराजगञ्जस्थित एक होटलमा रातभर ठूलो होहल्ला र संदिग्ध जमघट भइरहेको सूचनाको आधारमा प्रहरी सतर्क भयो। राति अबेरसम्म उक्त होटलमा चक्रे मिलनको समूहले जन्मदिन पार्टीको नाममा हल्लाखल्ला गर्दै आएको खबर पाएपछि काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले उच्च प्रहरी नेतृत्वसँग समन्वय गरे।

त्यसपछि सार्वजनिक स्थानमा अनुशासनविहीन गतिविधि र शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा मिलन चक्रे पक्राउ परे। उनीसँगै उपस्थित करिब ५० जना आपराधिक पृष्ठभूमिका व्यक्ति समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

हाल पक्राउ परेकामध्ये कसकसलाई के आधारमा मुद्दा चलाइने हो भन्ने विषयमा प्रहरीमा आन्तरिक छलफल भइरहेको छ र कानुनी प्रक्रिया तय हुन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय