
कैलाली — प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा चिसापानीमा आयोजना गरिएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुन गइरहेका सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
मंगलबार कैलालीको लम्की क्षेत्रमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की सवार गाडीहरू एकआपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै भौतिक पूर्वाधार मन्त्रालयको से.१ झ ३३० नम्बरको कालो गाडीका चालकले बाटोमा उभिएका एक व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएपछि पछाडिबाट तीव्र गतिमा आइरहेको कानुन मन्त्रालयको बा.२ झ १४१९ नम्बरको रातो गाडी ठोक्किएको हो।
दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। यद्यपि, कानुनमन्त्री सवार रातो गाडीको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको र चल्ने अवस्थामा नरहेको बताइएको छ। भौतिक पूर्वाधार मन्त्री सवार गाडीको पछाडिपट्टि समेत क्षति पुगेको छ।
घटनापछि दुवै मन्त्रीलाई अर्को सवारी साधनको व्यवस्था गरी कार्यक्रम स्थल चिसापानी पुर्याइएको छ।
यसैबीच, प्रहरीले घटनास्थलमै पुगेर दुर्घटनाको प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ।



