वीरगञ्ज — जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र मधेस प्रदेशका सर्वोत्कृष्ट प्रहरी अधिकृत घोषित भएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्यांकनका आधारमा पर्सा प्रहरी कार्यालयलाई उत्कृष्ट ठहर गरेको हो।

प्रदेशका आठवटै जिल्लाका प्रहरी कार्यालयहरूको कार्यसम्पादन समीक्षा कार्यक्रममार्फत पर्सा प्रहरीको नेतृत्व, उपलब्धि र सेवा प्रवाहलाई उत्कृष्ट ठहर गरिएको हो। प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार ४० वटा सूचकमा आधारित मूल्यांकनमा पर्सा प्रहरीले ९०.१९ प्रतिशत अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो।

एक वर्षे उपलब्धिहरू यस्तो छन्:

१. चोरी र तस्करी नियन्त्रणमा सफलता

एसपी मिश्रको नेतृत्वमा पर्सा प्रहरीले करिब ६० करोड रुपैयाँ बराबरको चोरी, तस्करी र भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ। यसअन्तर्गत विभिन्न ठाँउबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरिएको थियो।

२. फरार प्रतिवादी पक्राउमा कीर्तिमान

अदालतबाट फैसला भई फरार रहेका १,५११ जना प्रतिवादीलाई पक्राउ गरिएको छ। यसबाट ७३ वर्ष २ महिना कैद र ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना असुल गरिएको छ।

३. लागुऔषध नियन्त्रण

गत वर्ष मात्र पर्सा प्रहरीले ३१९ किलो चरेससहित ट्रकसहित अभियुक्त पक्राउ गरेको छ। कुलतर्फ ६२४ किलो चरेस, १,५६१ किलो गाँजा, १.५९ किलो अफिमसहित १५३ जना लागुऔषध कारोबारी नियन्त्रणमा लिएका छन्।

४. मानव बेचबिखनविरुद्ध कडा अभियान

१२ वटा मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गराई १३ जना अभियुक्तलाई कानुनी कारबाही गरिएको छ।

५. गम्भीर प्रकृतिका अपराध नियन्त्रण

कर्तव्य ज्यानलगायत गम्भीर प्रकृतिका मुद्दामा संलग्न अभियुक्तहरू पक्राउ र सफल अनुसन्धानमार्फत पर्सा प्रहरी अब्बल देखिएको छ।

६. सामुदायिक सहभागिता र सौन्दर्यकरण

प्रहरी कार्यालयको भौतिक संरचना व्यवस्थापन र सौन्दर्यकरणसहित मनोबल वृद्धिका लागि विविध कार्यक्रम सञ्चालन गरिएको छ।

७. शान्ति सुरक्षा व्यवस्थापन

हनुमान जयन्ती, गहवामाई रथ यात्रा, मोहरमलगायतका चाडपर्वहरूमा योजनाबद्ध प्रहरी परिचालन गरी शान्ति सुरक्षामा अवरोध हुन नदिएको मूल्यांकनमा उल्लेख छ।

प्रदेश प्रहरी कार्यालयले २०७७ सालदेखि सुरु गरेको वार्षिक कार्यसम्पादन मूल्यांकनमा पर्सा प्रहरीले यस वर्ष पहिलोपटक सर्वोत्कृष्ट कार्यालयको मान्यता पाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय