नुवाकोट— नुवाकोट प्रहरीले दुप्चेश्वर गाउँपालिकाबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार, ६ जना किशोरहरूले नक्कली नोट लिएर हिँडेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोही प्रकरणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो।

दुप्चेश्वर गाउँपालिका–६ को रामती बजारमा मंगलबार किनमेल गर्न आएका बालकहरूको साथबाट ६९ थान नक्कली नोट फेला परेपछि गरिएको अनुसन्धानका क्रममा थप संलग्नता देखिएका दुई व्यक्तिलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा दुप्चेश्वर–७ निवासी ४२ वर्षीय नरबहादुर तामाङ र ४८ वर्षीय भीमबहादुर तामाङ रहेका छन्। अनुसन्धानबाट उनीहरूले नक्कली नोट बनाएर गाउँका बालबालिकामार्फत बजारमा चलनचल्तीमा ल्याउने गरेको पाइएको डीएसपी लामाले बताए।

पक्राउ परेका व्यक्तिहरूको घरमा गरिएको खोजतलासमा थप २४ थान नक्कली नोट बरामद गरिएको छ। प्रहरीले नक्कली नोट उत्पादन र वितरण कार्यमा संलग्न अन्य व्यक्तिहरूको खोजी र प्रयोग भएका उपकरणहरू पत्ता लगाउने प्रयास जारी रहेको जनाएको छ।

प्रहरीले उनीहरूलाई ‘खोटा मुद्रासम्बन्धी कसूर’ अन्तर्गत अनुसन्धान गर्न जिल्ला अदालत नुवाकोटबाट सात दिनको म्याद लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय