
काठमाडौं, साउन ७ — ललितपुरको महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी संस्थाको करोडौं रुपैयाँ ठगी प्रकरणमा संलग्न प्रमुख अभियुक्त ज्योति बहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका दुई जना व्यक्तिमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।
असार ४ गते इन्टरपोलको सहयोगमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीसँग सम्पर्क देखिएका बर्दिया निवासी सुरेश अधिकारी र धादिङ निवासी सुवास खत्रीमाथि अनुसन्धान जारी रहेको *केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)*ले जनाएको छ।

आइफोन फुटाएर प्रमाण नष्ट गर्ने प्रयास—
ब्युरोको टोली असार १५ गते सुवास खत्रीलाई खोज्दै अनामनगर पुगेको थियो। टोलीले ‘पक्राउ पुर्जी आएको छ, हामीसँग जानुपर्छ’ भन्दै परिचय दिएपछि खत्रीले हातमा रहेको आइफोन १६ फुटपाथमा हानेर नष्ट गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, खत्रीले भण्डारीले विदेशबाट ठगीमार्फत प्राप्त गरेको रकम ‘हुन्डी’मार्फत नेपालमा ल्याउन सहयोग गरेका थिए। उनीहरूको लामो समयदेखि आपसी सम्पर्क र आर्थिक कारोबार रहेको पुष्टि भएको छ।
ब्युरो स्रोतका अनुसार खत्रीको मोबाइलमा महत्त्वपूर्ण प्रमाण हुनसक्ने देखिएकाले फोन मर्मत गरी डिजिटल फोरेन्सिक ल्याबमा डाटा रिकभर प्रयास गरिएको थियो। तर, डाटा पुनःप्राप्त गर्न नसकिएको बताइएको छ।
सुरेश अधिकारीसँग पारिवारिक सम्बन्ध—
यसै प्रकरणमा पक्राउ परेका अर्का व्यक्ति सुरेश अधिकारी भण्डारीका पारिवारिक सदस्य हुन्। दुबै जनाविरुद्ध सङ्गठित अपराध अन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) युवराज खड्काले जानकारी दिए।
उनका अनुसार, “सङ्गठित ढंगले ठगी गरेको प्रमाण देखिएपछि अनुसन्धान थप फराकिलो पारिएको छ।”
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मितेरी सहकारीबाट ३ करोड ४४ लाख रुपैयाँ ठगी भएको पुष्टि भएको छ।
‘पार्सल’को बहानामा ठगी—
सहकारीकी महाप्रबन्धक ज्योति गुरुङको सहयोगमा भण्डारीले सहकारीका सचिव कृष्ण रानासँग सम्पर्क गरेका थिए। त्यस क्रममा थाइल्याण्डबाट ग्लोबल आइएमई बैंकको इन्द्रचोक शाखामा ३३ करोड ११ लाख रुपैयाँ ‘पार्सल’मार्फत पठाएको भन्दै ह्वाट्सएपमा टोकन पठाइएको थियो।
पार्सल बुझ्न कमिसन तिर्नुपर्छ भनेर सहकारीबाट ३ करोड ४४ लाख रुपैयाँ ठगी गरिएको प्रहरीको भनाइ छ।
यस प्रकरणमा नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङसँग समेत प्रहरीले बयान लिएको छ। उनकी पूर्वपत्नी ज्योति गुरुङ हाल फरार रहेको र उनको भूमिकाबारे समेत अनुसन्धान भइरहेको बताइएको छ।
नागरिकता र पासपोर्ट किर्ते प्रकरण—
ज्योति भण्डारीमाथि नागरिकता र राहदानी किर्तेसम्बन्धी अनुसन्धान पनि अघि बढाइएको छ। प्रहरीले भण्डारीका दुई पासपोर्टमा फरक नागरिकता नम्बर र जन्मस्थान देखिएको पुष्टि गरेको छ।
एक पासपोर्टमा नागरिकता नम्बर १५८८३ र जन्मस्थान कास्की, अर्कोमा नागरिकता नम्बर १४८०३ र जन्मस्थान बर्दिया उल्लेख गरिएको छ।
सीआईबीको अनुसन्धानअनुसार, भण्डारीले विभिन्न व्यक्तिका नामबाट राहदानी तथा नागरिकताको विवरण किर्ते गरी काल्पनिक परिचय बनाएर ठगी धन्दा चलाउने गरेको देखिएको छ। उनी फरक नामबाट फेसबुक र ह्वाट्सएप प्रयोग गरी पीडितलाई झुक्याउने गरेको ब्युरो स्रोतले जनाएको छ।



