वीरगंज, पर्सा — नेपाल प्रहरी अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगंजका प्रहरी प्रमुख प्रहरी निरीक्षक (प्र.नि.) लोकराज भट्टलाई २०८२ सालको असार महिनाको “मोन्टेको सर्वश्रेष्ठ ट्राफिक प्रहरी (Best Traffic Police of the Month)” को अवार्ड प्रदान गरिएको छ।

प्र.नि. भट्टले विभागीय मूल्य मान्यता, आदेश र निर्देशनको पालना गर्दै इमानदार, बफादार, कर्तव्यपरायण, अनुशासित र लगनशील ढंगले ट्राफिक व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। हालै सम्पन्न आ.व.को तुलनामा अघिल्लो आर्थिक वर्षभन्दा उच्च राजस्व संकलन गरी मधेश प्रदेशका आठवटै ट्राफिक कार्यालयहरूबीच वीरगंजलाई अग्रणी बनाउने कार्यमा उनको विशेष भूमिका रह्यो।

त्यस्तै, कार्यसम्पादन सम्झौतामा उल्लेखनीय लक्ष्य प्राप्ति र ट्राफिक जनचेतनामूलक कार्यक्रमहरूको प्रभावकारी सञ्चालनमा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। यिनै योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल प्रहरी नियमावलीअनुसार नगद पुरस्कारसहित उक्त अवार्ड प्रदान गरिएको हो।

एक औपचारिक कार्यक्रमबीच नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राज कुमार सिलवालले प्र.नि. भट्टलाई सम्मान पत्र र नगद पुरस्कार हस्तान्तरण गरेका हुन्।

प्र.नि. लोकराज भट्टको समर्पण, व्यावसायिकता र नेतृत्व क्षमताले अन्य प्रहरी कर्मचारीहरूमा पनि प्रेरणा थप्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय