
सुरक्षा सरोकार — नेपाल प्रहरीको इतिहासमा निडर, इमान्दार र व्यावसायिक नेतृत्वकर्ताका रूपमा चिनिने प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले साउन ४ गते आफ्नो कार्यकालको चार महिना पूरा गरेका छन्। जागिरे जीवनको लामो अवधि उत्कृष्ट कमाण्डमा बिताएका थापा जब प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा पुगे, तब संगठनमा व्याप्त विकृति, प्रभाव र असन्तुलन हट्ने आशा गरिएको थियो। चार महिनामा उनले देखाएको प्रतिबद्धता र उपलब्धिहरूले सो आशालाई बल दिएको देखिन्छ।
आईजीपी थापाको कार्यकालमा प्रहरी संगठनको कार्यशैली, नीतिगत सोच र आन्तरिक संरचनामा उल्लेखनीय सुधारका प्रयास भएका छन्। उनले संगठनलाई राजनीतिक प्रभावबाट टाढा राख्दै प्रहरी कर्मचारीको मनोबल उच्च बनाउने काममा सफलता पाएका छन्। शान्ति–सुरक्षा कायम गर्न, आन्तरिक कमजोरी सुधार्न र संगठनलाई प्रविधिमैत्री तथा स्रोतसाधनयुक्त बनाउन उनले चालिएका कदमहरू सकारात्मक देखिन्छन्।

उनले नेतृत्व सम्हालेपछि लामो समयदेखि फरार अपराधीहरू पक्राउमा उल्लेखनीय सफलता हासिल भएको छ। अपराध नियन्त्रण, गुन्डागर्दी अन्त्य, राजस्व चुहावट रोकथाम लगायतका क्षेत्रमा सक्रियतापूर्वक काम भएको छ। यसले अपराधीहरूको मनोबल घटाउनुका साथै जनतामा सुरक्षाको अनुभूति बढाएको छ।
आईजीपी थापा प्रहरी संगठनभित्र मात्र होइन, बाहिरी सुरक्षावृत्तमा पनि दृढ आत्मविश्वास, इमान्दार छवि र व्यावसायिकता बोकेको नेतृत्वकर्ताका रूपमा स्थापित छन्। ‘हल्ला कम, काम बढी’ भन्ने उनको कार्यशैलीले संगठनलाई नतिजामूलक बनाएको छ।
प्रहरी संगठनको ‘चेन अफ कमान्ड’लाई थप प्रभावकारी बनाउँदै, मातहतलाई नतिजामूलक काममा केन्द्रित गराउन उनले निर्देशन दिएका छन्। प्रहरी संगठनको आन्तरिक सरुवा–बढुवा प्रणाली, आर्थिक पारदर्शिता, कानुन कार्यान्वयन र संगठनमा सुशासन स्थापनाका क्षेत्रमा उनले उल्लेखनीय प्रयास गरेका छन्।
तल्लो दर्जाका प्रहरी कर्मचारीहरूले उठाएका माग — विशेष गरी १६ वर्षे पेन्सन अवधि — सम्बोधनतर्फ पनि थापाको नेतृत्वमा सकारात्मक पहल भइरहेको छ।
आईजीपी थापाले भनेका छन्, “देश र जनताको सेवा गर्नु गर्वको कुरा हो, संगठनका हरेक सदस्यले गर्व गर्नुपर्छ।” उनले केही अपवादका घटनालाई आधार बनाएर प्रहरीले गरेको उत्कृष्ट कार्यको अवमूल्यन गर्नु हुँदैन भन्ने धारणा पनि सार्वजनिक रूपमा राखेका छन्।
विद्यमान कानुनअनुसार उनका लागि अझै दुई महिना कार्यकाल बाँकी छ। तर हालसम्मको नेतृत्वले स्पष्ट सन्देश दिएको छ — थापा फरक सोच, इमान्दार कार्यशैली र जनउत्तरदायी नेतृत्वका प्रतीक हुन्। अवकाशपछिको जीवनमा उनी विवादरहित, स्वच्छ छवियुक्त प्रहरी प्रमुखका रूपमा इतिहासमा दरिने प्रबल सम्भावना छ।
चार महिनामा उनले गरेको कामलाई पूर्ण परिवर्तन भन्न मिल्दैन, तर यो अवश्य भन्न सकिन्छ— आईजीपी थापाको नेतृत्व नेपाल प्रहरीका लागि संस्थागत सुधारको सशक्त सुरुवात हो।



