
काठमाडौं । रोटरी क्लबद्वारा हरेक वर्ष प्रदान गरिने ‘मातृभूमि हिरो’ अवार्ड यस वर्ष नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई प्रदान गरिएको छ।
रोटरी क्लब अफ मातृभूमि बालुवाटारको स्थापनाको १० औं वार्षिकोत्सव समारोहका अवसरमा आयोजित विशेष कार्यक्रममा कार्कीलाई रोटरी डिस्ट्रिक गभर्नर विनोद कोइरालाले सम्मानपत्र र माला अर्पण गरी सम्मान गरेका हुन्।

समाजमा शान्ति-सुरक्षा कायम गर्न, अपराध अनुसन्धानमा उल्लेखनीय योगदान पु¥याएबापत कार्कीलाई प्रशंसास्वरूप सम्मान गरिएको क्लबले जनाएको छ। रोटरी क्लब मातृभूमिले समाजसेवामा उल्लेखनीय योगदान दिएका विशिष्ट व्यक्तित्वहरूलाई हरेक वर्ष यो अवार्डद्वारा सम्मान गर्दै आएको छ।
त्यस अवसरमा क्लबका पूर्वअध्यक्ष विष्णुहरि दाहाललाई इन्टरनेसनल चेयर फर लिड फेलोसिपमा पहिलोपटक नेपालको तर्फबाट चयनमा परेकाेमा विशेष सम्मान प्रदान गरिएको थियो।
क्लबको वर्ष २०२५–२६ को नेतृत्व युवा उद्यमी निर्मल ढकालले गर्ने भएका छन्। करिब डेढ दशकदेखि परोपकारी कार्यमा सक्रिय ढकालले अब क्लबको अध्यक्षता सम्हाल्नेछन्।
सल्लाहकार समितिमा संस्थापक अध्यक्ष निगम हुमागाईं, पूर्वअध्यक्षहरू विनोद अधिकारी, विष्णुहरि दाहाल र बाबुराम आचार्य रहेका छन्।
कार्यक्रममा रोटरीका पूर्व डिस्ट्रिक गभर्नर, पदाधिकारीहरू, साथै सामाजिक र व्यवसायिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



