
बाँके, ३ साउन — जिल्ला प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभरका फरार अभियुक्त पक्राउदेखि लागुऔषध नियन्त्रण, मानव बेचबिखन, अवैध कारोबार र समाजिक सुरक्षासम्बन्धी दर्जनौं अभियानहरूमा उल्लेखनीय सफलता हासिल गरेको छ।

६ सय ३९ जना फरार पक्राउ, करोडौं जरिवाना संकलन
बाँके प्रहरीले वर्षभरिमा विभिन्न मुद्दामा फरार रहेका ६३९ जना प्रतिवादीलाई पक्राउ गर्दै १८९ वर्ष ८ महिना १ दिन कैद सजाय र २ करोड १८ लाख ३५ हजार ६३२ रुपैयाँ जरिवाना असुल उपर गरेको जानकारी जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले दिएका छन्।
४ करोडभन्दा बढीको अवैध सामान बरामद
डीएसपी पातलीका अनुसार भन्सार छली गरी ल्याइएका ४ करोड ३ लाख ८३ हजार ३४४ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरिएका छन्। यस क्रममा ६ वटा जीप/कार, १० मोटरसाइकल र २१ जना संलग्न व्यक्ति नियन्त्रणमा लिइइ सम्बन्धित निकायमा बुझाइएको छ।
प्रतिबन्धित भारतीय नोट र हुण्डी कारोबार नियन्त्रण
बाँके प्रहरीको अपरेसनमा ६ लाख २१ हजार १२० रुपैयाँ बराबरको प्रतिबन्धित भारतीय नोट बरामद भई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको छ। यस्तै २०८१ भदौ १० मा ४०७ ग्राम सुन, १० किलो ६१३ ग्राम चाँदीसहित ७ जना हुण्डी कारोबारीलाई पक्राउ गरिएको थियो।
लागुऔषध नियन्त्रणमा २९८ पक्राउ
लागुऔषध नियन्त्रणतर्फ ब्राउन सुगर, चरेश, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित विभिन्न लागुऔषध ओसारपसारमा संलग्न २९८ जनालाई पक्राउ गरिएको छ। यो अवधिमा प्रहरीले कुल ११३ किलो ५२० ग्राम गाँजा, ३ किलो ब्राउन सुगर, ३६१३ ट्याब्लेट नाइट्राजेपामलगायतका पदार्थ नियन्त्रणमा लिएको हो।
जघन्य अपराध र ठगीमा तीव्र कारबाही
बाँके प्रहरीले सामूहिक बलात्कार, हत्याजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई छोटो समयमै पक्राउ गर्दै कानुनी दायरामा ल्याएको छ। सामूहिक बलात्कारमा संलग्न ५ जना, घाँटी रेटेर हत्या गर्ने, नक्कली कागजात बनाई ठगी गर्ने, विदेश पठाउने भन्दै ठगी गर्ने लगायत २० जनाभन्दा बढीलाई कारबाहीमा ल्याइएको छ।
सवारी दुर्घटना र ट्राफिक कारबाही
आ.व. ०८१/८२ मा ३७ हजार ४३५ वटा सवारी साधनमाथि ट्राफिक कारबाही गरी ३ करोड २ लाख ६४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ। साथै, दुर्घटनापछि फरार भएका व्यक्तिहरूमध्ये एक जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ।
महिला, बालबालिका र जेष्ठ नागरिकको उद्दारमा उल्लेखनीय कार्य
बाँके प्रहरीले हराएका ५१४ महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई फेला पारेर परिवारको जिम्मा लगाएको छ। ९४ जना अलपत्र अवस्थाका व्यक्तिहरूलाई संरक्षण संस्थामा पठाइएको छ भने सीमा नाकाबाट ९०७ जनालाई उद्दार गरिएको छ।
समुदाय प्रहरी साझेदारी र जनचेतनामूलक कार्यक्रम
एक वर्षमा १०९४ वटा सचेतनामूलक कार्यक्रम — लागुऔषध, साइबर अपराध, मानव बेचबिखन, आत्महत्या, नागरिक सुनुवाइ लगायत — सञ्चालन गरिएको छ। ट्राफिक सचेतनामा मात्र २६२४ कार्यक्रम सम्पन्न गरिएका छन्।
आन्तरिक सुधार र पुरस्कृत प्रहरी कर्मचारी
बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा प्रहरी कर्मचारीहरूलाई आचरण, सेवाग्राही व्यवहार, सामाजिक सञ्जालको प्रयोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। उत्कृष्ट कार्य गर्ने ९३ प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ भने अनुशासनविपरीत कार्यमा संलग्न ११ जनालाई कारबाही गरिएको हो।
कोहलपुर इलाका प्रहरी कार्यालयलाई उत्कृष्ट घोषित
नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन २०८१ मा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेलाई सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालय घोषणा गर्दै प्रहरी महानिरीक्षकज्यूबाट प्रमाणपत्र प्रदान गरिएको हो।



