
काठमाडौं — सशस्त्र प्रहरी बलको नायव महानिरीक्षक (डीआईजी) पदमा मनीष थापालाई बढुवा गर्न सिफारिस गरिएको छ। बुधबार kबसेको बढुवा समितिको बैठकले रिक्त रहेको एक डीआईजी पदमा थापालाई सिफारिस गरेको हो।
डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्र प्रहरीमा डीआईजीको एक पद खाली थियो। उक्त पदमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षक पदमा भर्ना भएको पहिलो ब्याचका अधिकारी हुन्।

उक्त ब्याचमा हाल एसएसपी रहेका प्रकाश थापा र विनोदराज श्रेष्ठ पनि पर्छन्। तर उनीहरूले स्टाफ कलेज नगरेका कारण बढुवाको दौडमा पछि परेका छन्। सशस्त्र प्रहरीमै भर्ना भएका अधिकृतहरूका लागि डीआईजी पदमा पुग्न स्टाफ कलेजको योग्यता अनिवार्य छ।
त्यसैगरी, नेपाल प्रहरीको प्राविधिक सईबाट सशस्त्र प्रहरीमा प्रवेश गरेका कृष्णराज पाठक पनि हाल एसएसपी छन् र वरिष्ठता आधारमा उनी अहिलेका सबै एसएसपीभन्दा अगाडि थिए। तर विभिन्न चरणमा उनले पछि पारिएको स्थिति छ। उनीभन्दा पछाडिका सशस्त्र प्रहरीको पहिलो ब्याचका सबैजना र दोस्रो ब्याचका दीपेन्द्र कुँवर तथा विष्णु भट्ट पहिले नै डीआईजीमा बढुवा भइसकेका छन्।
मनीष थापाको बढुवा सिफारिससँगै अब सशस्त्र प्रहरी बलको नेतृत्व तहमा पुनः सन्तुलन आउने अपेक्षा गरिएको छ।



