
वीरगञ्ज — जिल्ला प्रहरी कार्यालय धनुषाले असार महिनाको ‘पुलिस अफ दि मन्थ’ मा प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरालाई चयन गरेको छ।
अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत जबराले गम्भीर प्रकृतिका घटनाहरूको सफल अनुसन्धान गर्दै प्रहरी संगठनको छवि उच्च राख्न महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार वरिष्ठ सई जबराले विभिन्न चर्चित अपराध अनुसन्धानमा सक्रिय भूमिका खेलेका छन्। तीमध्ये गत चैत १७ गते लक्ष्मिनिया गाउँपालिका–५ बनिनियाँमा श्रीमती अञ्जली यादवको हत्या गरी शव गाडेको घटनामा संलग्न हरिराम यादवलाई नियन्त्रणमा लिन जबराको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ।
त्यसैगरी, असार १८ गते जनकपुर उपमहानगरपालिका–१५ मा वासुदेव साहमाथि चक्कु प्रहार गरी फरार रहेका बेचन महासेठलाई खजुरी रेल्वे स्टेशनबाट पक्राउ गर्नसमेत जबराले प्रमुख पहल गरेका थिए।
त्यो मात्रै होइन, ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ तथा विद्युतीय अपराधजस्ता मुद्दामा फरार रहेका हनिफ नदाफलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनसमेत उनले सशक्त भूमिका निर्वाह गरेका छन्।
एसपी रेग्मीका अनुसार जबराको व्यावसायिक दक्षता, जिम्मेवारीप्रतिको लगाव र परिणाममुखी कार्यशैलीले न केवल प्रहरी संगठनको उज्ज्वल छवि निर्माण गरेको छ, तर आम नागरिकबीच प्रहरीप्रतिको विश्वाससमेत बढाएको छ।
“उनको उत्कृष्ट कार्यसम्पादनबाट समाजमा सकारात्मक सन्देश प्रवाह भएको छ,” एसपी रेग्मीले भने।
जिल्ला प्रहरी कार्यालय धनुषाले जबराको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘पुलिस अफ दि मन्थ’ को सम्मान प्रदान गरेको हो। यस सम्मानमार्फत संगठनभित्र उत्कृष्टता प्रस्तुत गर्ने प्रहरी कर्मचारीलाई अझ प्रेरित हुने विश्वास लिइएको छ।



