
धादिङ – देशभर सक्रिय मनसुनका कारण धादिङ जिल्लामा बाढी, डुवान र पहिरोको जोखिम तीव्र रूपमा बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालय धादिङले सर्वसाधारण, विशेषतः जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालका अनुसार, लगातारको वर्षाले पहाडी भूभागमा जमिन चिरा पर्न थालेको, साना खोलाहरूमा पानीको सतह एक्कासी बढेको र धमिलो पानीको बहाव तीव्र रूपमा देखिन थालेको छ—जसले गम्भीर जोखिमको संकेत गर्छ।

डिएसपी हमालका अनुसार, प्राकृतिक प्रकोपलाई रोक्न नसकिने भए पनि पूर्वतयारी र सतर्कताका माध्यमबाट जनधनको क्षति न्यून गर्न सकिन्छ।
सुरक्षित स्थानको पहिचान, ‘झटपट झोला’को तयारी, बालबालिका, अशक्त तथा जेष्ठ नागरिकको अग्रिम व्यवस्थापन, तथा वैकल्पिक सञ्चार सम्पर्क प्रणालीको तयारी अहिलेको आवश्यकता रहेको उनले बताए। साथै, उनले विद्यालय, वडा कार्यालय, स्थानीय क्लब लगायतका समुदायस्तरीय संरचनामार्फत बाढी तथा पहिरोका संकेतहरूबारे चेतना अभिवृद्धि गर्न आवश्यक रहेकोमा जोड दिए।
१० स्थानमा ट्राफिक हटस्पट स्थापना —
प्रवक्ता हमालका अनुसार, पृथ्वी राजमार्ग मुख्य र संवेदनशील मार्ग भएकाले १० वटा ट्राफिक हटस्पट स्थापित गरिएका छन्। यी स्थानहरूमा कम जोखिमयुक्त क्षेत्रको पहिचान, सवारी रोक्ने उचित व्यवस्था र सचेतनामूलक सूचना प्रवाहलाई प्राथमिकता दिइएको छ।
“गत वर्षको बाढी र पहिरोको घटनाबाट पाठ सिक्दै यस वर्ष प्रारम्भदेखि नै उच्च सतर्कता अपनाइएको छ,” उनले स्पष्ट पारे।
त्रिशूली नदी क्षेत्र अति संवेदनशील : ट्राफिक प्रहरीको सतर्कता
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले त्रिशूली नदी आसपासका क्षेत्रहरूलाई अति संवेदनशील मानी विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
यस्तै, इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख, प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार :- धार्के हुँदै सीतापाइला जोड्ने सडकखण्डमा पर्ने आरुखोला, भालुखोला, रुप्सेखोला, धोबिखोला तथा स्याङ्की खोलामा एक्कासी पानीको बहाव अत्यधिक रूपमा बढ्ने गरेको छ।
यसले सवारीसाधन, पैदल यात्रु तथा स्थानीय बासिन्दाहरूलाई उच्च जोखिममा पार्ने भएकाले ट्राफिक प्रहरीले निम्न सुझावहरू पालना गर्न आग्रह गरेको छ:
• जोखिम मोलेर यात्रा नगर्नुहोस्।
• यात्रा गर्नु परेमा नजिकको प्रहरी युनिटमा सम्पर्क गरी अवस्थाबारे जानकारी लिएपछि मात्र यात्रा गर्नुहोस्।
– ईप्रका खानिखोला: ९८५१२८२९११
– प्रहरी चौकी जिवनपुर: ९८५१२१५८१४
• पानी परिरहेकै बेला अवस्था हेरी सुरक्षित स्थानमा सवारीसाधन रोक्नुहोस्।
• रातको सट्टा दिनको समयमा यात्रा गर्नु उपयुक्त हुन्छ।
प्रहरीको अपील: “सूचना नलुकाऔं, सहयोग गरौं”
प्रहरीले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने सूचनालाई गम्भीरतापूर्वक लिन, अनावश्यक अफवाहबाट जोगिन र जोखिमपूर्ण यात्रा नगर्न सबैमा अपिल गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रको जानकारी सम्बन्धित सुरक्षा निकायसँग तुरुन्तै साझा गर्न, र स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्न पनि अनुरोध गरिएको छ।
डिएसपी हमालले भने, “विपद् व्यवस्थापन सबैको साझा जिम्मेवारी हो। सचेत नागरिकको भूमिका नै सुरक्षित समाजको आधार हो।”



