
धादिङ — विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गर्दै एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बेनिघाट रोराङ गाउँपालिका–२, आपटारस्थित मलेखुबाट कान्द्राङगढी जाँदै गरेको भित्री सडकखण्डमा भारततर्फको एक सवारीसाधन रोकी जाँच गर्दा लागू औषध फेला परेको हो।

भारतको बिहार राज्य, मोतिहारी जिल्ला अन्तर्गत रक्सौल थाना, नोइयाढीह वडा नं. ४, सहदेवा बस्ने ४५ वर्षीय सरहज मियाँले चलाएको सवारी साधनमा शंका लागेपछि प्रहरीले चेकजाँच गर्दा गाडीको सिटमुनी चेसिस भागमा फल्स बटम बनाई लुकाइछिपाई राखिएको अवस्थामा ३१ वटा पोका सहित कुल १४३ किलो ८४० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो।
पक्राउ परेका सरहज मियाँलाई नियन्त्रणमा लिई लागू औषध (गाँजा) सम्बन्धी मुद्दामा जिल्ला अदालत धादिङबाट १२ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको छ।



