
काठमाडौं, असार ३० गते — रोजगारीका लागि दुबई गएका पाँच नेपाली युवा लामो समयदेखि अलपत्र परिरहेको अवस्थामा आज उनीहरूको सफल उद्दार गरिएको छ। सरोकार केन्द्र नेपालको पहलमा र दुबईस्थित मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमको समन्वयमा ती युवाहरूलाई उद्दार गरी नेपाल फर्काइएको हो।
उद्दार गरिएकाहरूमा शिवम थापा मगर, दिपेन्द्र कार्की, विशाल कोली, छकबहादुर थापा र सोमबहादुर थापा रहेका छन्। उनीहरूमध्ये चार जना करिब तीन महिनाअघि Shan AB International Manpower मार्फत र एक जना एक महिनाअघि Link International मार्फत रोजगारीका लागि दुबई गएका थिए।

प्रति व्यक्ति १ लाख ८० हजार रुपैयाँ बुझाएर लेबर भिसामा विदेशिएका ती युवाहरूले काम र तलबको आश्वासन अनुसार सेवा नपाएको गुनासो गरेपछि कम्पनीसँग कुरा राख्दा उल्टै कुटपिट गरेर कम्पनीले कामबाट निकालिदिएको थियो। त्यसपछि अलपत्र परेका ती युवाहरूले मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमलाई सहायता माग गरेका थिए।
टिमले उनीहरूलाई उद्दार गरी आफ्नै सेफ हाउस मा ३३ दिनसम्म आश्रय दिएको थियो। अन्ततः सरोकार केन्द्र नेपालको सहकार्यमा उनीहरूलाई नेपाल फर्काउन सफल भएको हो।
हाल सरोकार केन्द्र (नेपालमा) र मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम (दुबईमा) विदेशी भूमिमा अलपत्र परेका नेपाली नागरिकका लागि विश्वासिलो सहयोगीका रूपमा स्थापित हुँदै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र सो टिमले १० जना नेपालीको उद्दार गरिसकेको छ।
सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थी नेपाल प्रहरीमा मानव बेचबिखन ब्युरो तथा अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा हजारौँ पीडितले न्यायको अनुभूति गरेका थिए भने ठग, तस्कर र अपराधीहरू भागाभागमा पर्ने अवस्थासम्म पुगेका थिए। अनुशासित र संवेदनशील प्रहरी अधिकृतको रूपमा चिनिनु भएका पन्थीले आफ्नो सेवा अवधिभर मानवताका पक्षमा दृढ प्रतिबद्धता देखाउनुभएको थियो।
नेपाल प्रहरीबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा अवकाश पाएपछि उहाँले सामाजिक न्यायको यात्रालाई रोकिन दिएनन्। बरु, पीडित र असहाय नागरिकका लागि अझ प्रभावकारी ढंगले सेवा पुर्याउने उद्देश्यसहित सरोकार केन्द्र स्थापना गर्नुभयो।
सरोकार केन्द्रमार्फत पछिल्ला दिनहरूमा वैदेशिक रोजगारमा अलपत्र परेका नेपालीहरूलाई उद्दार गर्नु, पीडितको पक्षमा कानुनी तथा सामाजिक पहल गर्नु, र राज्यका जिम्मेवार निकायहरूलाई पीडितमुखी बनाउने अभियान चलाउनु गोविन्द पन्थीको प्रतिबद्धताको प्रमाण हो।
उहाँबाट सञ्चालित अभियानहरूले पीडितका परिवारमा आशाको उज्यालो फैलाउनुका साथै समाजमा न्यायप्रतिको विश्वास बढाएको छ। वास्तवमा, सरोकार केन्द्र आजकल वैदेशिक रोजगारी, मानव तस्करी तथा शोषणका पीडितहरूको निम्ति एक विश्वासिलो र न्यानो आश्रयस्थलको रूपमा स्थापित हुँदै गएको छ।



