काठमाडौं —काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २० वटा दुईपाङ्ग्रे सवारी साधन (१२ वटा मोटरसाइकल र ८ वटा स्कुटर) ट्राफिक प्रहरीले फेला पारेर धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले ती सवारीसाधन धनीलाई आइतबार औपचारिक रूपमा जिम्मा लगाउनुभयो।

सवारीधनीहरूले ट्राफिक कार्यालयमा निवेदन दिएपछि सुरु गरिएको खोजतलासका क्रममा नरेफाँट, मिलनचोक, सुन्दरीजल, चाबहिल, मध्यबानेश्वर, मालिगाउँ, काँडाघारी, कालिमाटी, अनामनगर, सिंहदरबार, नेपालटार, नयाँबसपार्क, बसुन्धरा र थली लगायतका क्षेत्रहरूबाट चोरी भएका ती सवारीसाधन फेला पारिएको हो। केही सवारीसाधनहरू नक्कली नम्बर प्लेटसहित फेला परेको ट्राफिक प्रहरीले जनाएको छ।

यस आर्थिक वर्ष २०८१/८२ को सुरुवातदेखि हालसम्म काठमाडौं उपत्यकाबाट हराएका वा चोरी भएका ४८० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। यस्तै, गत आर्थिक वर्ष ०८०/८१ मा ४१७ वटा र ०७९/८० मा ४९९ वटा सवारीसाधन फेला पारिएको थियो।

यसैबीच, ट्राफिक प्रहरीले हालसम्म ५१ वटा चोरीका सवारीसाधन फेला पार्दै चोरीमा संलग्न ७४ जनालाई पक्राउ गरी सम्बन्धित प्रहरी परिसर तथा प्रहरी वृत्तहरूमा आवश्यक कारबाहीका लागि पठाएको छ।

सवारीधनीहरूले सवारी फेला पारिएपछि ट्राफिक प्रहरीलाई सामूहिक धन्यवाद व्यक्त गरेका छन्।

सवारीसाधन चोरी तथा हराउने घटनाबाट जोगिन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले निम्न सुझाव दिनुभएको छ:

  • सवारीसाधन सधैं सुरक्षित स्थानमा पार्किङ गर्नुहोस्।
  • ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्नुहोस्।
  • आवतजावत कम हुने एकान्त स्थानमा पार्किङ नगर्नुहोस्।

यदि सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तुरुन्त सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिनसमेत अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय