
सुनसरी— सुनसरीको हरिनगर गाउँपालिका–६ महरम चोकमा सोमबार बिहान एक १८ वर्षीया युवतीको गोली हानी हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान करिब २:३० बजे भएको घटनामा स्थानीय गफार मियाँकी छोरी अरसी खातुनको ज्यान गएको हो।

प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, अरसीलाई उनका जेठा भिनाजु भारत बिहार राज्य अन्तर्गत पत्रहा पंचायत वडा नं. १६ घुर्ना निवासी २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरेका हुन्।
घटनाबारे प्रहरीलाई बिहान करिब ३:४५ बजे जानकारी प्राप्त भएको थियो।
घटना स्थल प्रहरी चौकी घुस्कीहाटबाट करिब २ किलोमिटर पूर्व-दक्षिणमा पर्दछ।
घटनापछि अजाद मियाँ फरार रहेका छन् भने उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका सबै प्रहरी इकाइ परिचालन गरिएको छ।
घटनास्थलबाट प्रहरीले सानो हतियारमा प्रयोग हुने एउटा नपड्केको गोली समेत फेला पारेको छ।
मृतकको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जानकारी दिएको छ।



