
काठमाडौं — गृहमन्त्री रमेश लेखकले प्रहरी सेवा सम्बन्धी नयाँ विधेयकमा हवल्दारसम्मका प्रहरी कर्मचारीलाई १६ वर्षे सेवा अवधिपछि नै पेन्सनसहित अवकाश जाने व्यवस्था गरिएको बताएका छन्।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ को शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले उक्त जानकारी दिएका हुन्। उनले प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन पनि दिए।

“प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाउने व्यवस्था विधेयकमा गरिएको छ,” गृहमन्त्री लेखकले भने, “यसले सुरक्षाकर्मीहरूको भविष्यप्रति सुनिश्चितता दिन्छ।”
उनका अनुसार केही दिनभित्रै प्रहरी विधेयकमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा औपचारिक छलफल सुरु हुने छ।
कार्यक्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधिमैत्री र नागरिकमैत्री बनाउने अभियान तीव्र गतिमा अगाडि बढिरहेको उल्लेख गरे। साथै, प्रहरी संस्था जनविश्वास बढाउँदै जनतासँगको सम्बन्ध सुदृढ बनाउँदै गएको पनि उनको भनाइ थियो।



