
काठमाडौं – नागरिकता किर्ते गरेको आरोपमा धादिङको धुनीवेशी नगरपालिका–४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदी पक्राउ परेका छन्। सात महिनादेखि फरार रहेका सुवेदीलाई प्रहरीले शनिबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार सुवेदीले उमेर नपुगेको एक नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्मदर्ता प्रमाणपत्र तयार पारेका थिए। सोही कागजातका आधारमा नागरिकता बनाई जग्गा किनबेच गरेको अभियोगमा उनीविरुद्ध सार्वजनिक किर्ते मुद्दा दर्ता गरिएको थियो। उक्त मुद्दा हाल जिल्ला अदालत धादिङमा विचाराधीन अवस्थामा छ।

काठमाडौंबाट पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि धादिङ लगिएको प्रहरीले जनाएको छ। सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट र पछिल्लो निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।



