
नवलपरासी पश्चिम — इलाका प्रहरी कार्यालय बर्दघाटका निमित्त प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) अभय रावतको कमाण्डमा खटिएको टोलीले शुक्रबार बर्दघाट नगरपालिका–४, टिसीएन चोकस्थित पूर्व–पश्चिम राजमार्गबाट ठूलो परिमाणको अवैध सामग्रीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–३ मलेखुका २८ वर्षीय पिकअप भ्यान चालक चिरञ्जीवी पाण्डे र सोही स्थानका ५२ वर्षीय पिताम्बर पाण्डे रहेका छन्। उनीहरूलाई वेवारिसे अवस्थाको पिकअप भ्यान (वा.प्र.०१–०३२च–९३०८) मा लैजाँदै गरिएको सामग्रीसहित पक्राउ गरिएको हो।

यससँगै रु. २५,००,००० मूल्य बराबरको पिकअप भ्यानसमेत नियन्त्रणमा लिइएको छ। समग्रमा रु. ४४,११,२२० बराबरको अवैध सामग्री तथा सवारीसाधन बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको रु. १९,११,२२० मूल्य बराबरको अवैध सामग्रीसहित पक्राउ परेका दुई जना र रु. २५ लाख मूल्य बराबरको पिकअप भ्यानलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको वरिष्ठ सई रावतले जानकारी दिएका छन्।



