काठमाडौं । गीतसंगीत र कला क्षेत्रमा फैलिँदै गइरहेका साइबर अपराध र विकृति नियन्त्रण गर्न अब प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ ।

बिहीबार दिउँसो गृहमन्त्रालयमा पुगेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको प्रतिनिधिमण्डलसँगको छलफलमा गृहमन्त्री रमेश लेखकले उक्त जानकारी गराएका हुन् ।

सो अवसरमा उपस्थित प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र साइबर ब्युरो प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवीन्द अर्याललाई गृहमन्त्री लेखकले फोकल पर्सन तोकेर कला र गीतसंगीतसँग सम्बन्धित डिजिटल विकृति नियन्त्रणमा कदम चाल्न निर्देशन दिए ।

“सामाजिक सञ्जालमार्फत गीतसंगीतको नाममा घृणा, लान्छना र अपमानजन्य सामग्री फैलिन्छ,” गृहमन्त्री लेखकले भने, “त्यसको निष्कर्ष निकालेर अगाडि बढ्नुपर्छ ।”

उनले कला क्षेत्रको संवेदनशीलता बुझ्दै साइबर मामिलालाई प्राथमिकताका साथ नियमन गर्न निर्देशन दिएका हुन् ।

आईजीपी थापाले पनि अबको दिनमा लोकसंगीत र दोहोरी गीतको नाममा फैलिएको विकृति सह्य नहुने स्पष्ट पारे । “परिवारसँग बस्दा हेर्न नसकिने खालका टिकटक भिडियो र गीत आइरहेका छन्, यो रोकिनुपर्छ,” थापाले भने, “यस्ता विकृति देखे प्रहरीमा उजुरी दिनुस् ।”

प्रतिष्ठानकी अध्यक्ष जितु थापा नेतृत्वको टोलीमा लोकसंगीत क्षेत्रका चर्चित कलाकारहरू सहभागी थिए । कलाकार शिव हमाल, बद्री पंगेनी, पूर्णकला बीसी, पुष्कल शर्मा, सम्झना भण्डारी, कुलेन्द्र विश्वकर्मा, सुरेश अधिकारी, श्रीकृष्ण बम मल्ललगायतको उपस्थिति थियो ।

त्यसैगरी, राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले पनि आजै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै तीज पर्वको सन्दर्भमा अश्लील र अमर्यादित गीतबारे गुनासो गरेका छन् ।

गृहमन्त्री लेखकले सरकार यस्ता विषयमा गम्भीर रहेको र रोकथामका लागि आवश्यक कदम चालिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय