सुर्खेत — जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागू औषध, अवैध यौनजन्य गतिविधि र जुवातासजस्ता गैरकानुनी क्रियाकलाप नियन्त्रणका लागि ‘अपरेसन क्लिन’ अभियान सञ्चालन गरिरहेको छ।

प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले सुर्खेतको कमान सम्हालेसँगै जिल्लाभरि व्यापक निगरानीसहितको विशेष अभियान सुरु गरिएको हो। बिहीबार आयोजित पत्रकार सम्मेलनमा एसपी शाहीले आफ्नो कार्यकाल सुरु भएदेखि हालसम्मका मुख्य उपलब्धिहरूबारे जानकारी गराएका हुन्।

‘सुर्खेतमा लागू औषध, जुवा र वेश्यावृत्ति प्रमुख सामाजिक समस्या हुन्,’ उनले भने, ‘हामीले शून्य सहनशीलताको नीति अवलम्बन गर्दै ती गतिविधि नियन्त्रणमा विशेष प्राथमिकता दिएका छौं।’

पछिल्लो साढे दुई महिनामा प्रहरीले ३५ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर, १७ ग्राम ३६० मिलिग्राम चरेस र ५ किलो ६४० ग्राम अफिम बरामद गरेको छ। लागू औषध कारोबारमा संलग्न ५ जना महिला सहित ४४ जना पक्राउ परेका छन्।

करोडौंको अफिमसहित कारोबारी पक्राउ

बुधबार मात्रै प्रहरीले भेरीगंगा नगरपालिका–१०, छिन्चुबाट ५ किलो ५४० ग्राम तयारी अफिमसहित जाजरकोटको जुनीचाँदे गाउँपालिका–१० का ४६ वर्षीय गणेशबहादुर बस्नेतलाई पक्राउ गरेको हो।

एसपी शाहीका अनुसार, लामो समयदेखि संकलित सूचनाको विश्लेषण र निगरानीपछि बस्नेतलाई कालो झोलामा लुकाएर अफिम ओसारिरहेको अवस्थामा पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा ती अफिम जाजरकोटका विभिन्न ठाउँबाट संकलन गरिएको र भारत पठाउने तयारी भइरहेको खुलेको छ।

प्रहरीले बरामद गरेको अफिमको बजार मूल्य नेपालमा प्रतिकिलो करिब १ लाख रुपैयाँ पर्ने र भारतमा पुग्दा करोडौं रुपैयाँसम्मको मूल्यांकन हुने बताएको छ।

बस्नेतको साथबाट एक थान डिजिटल तराजु, ४,७२० रुपैयाँ नगद, नागरिकता, विभिन्न बैंकका चेक र भौचरहरू पनि बरामद गरिएको छ।

हटियालाइनको खाजा घरमा जुवाखाल

यसैबीच, बुधबार नै प्रहरीले वीरेन्द्रनगर–हटियालाइनस्थित तीर्थराज भेग्मीरेले सञ्चालन गरेको ‘टेष्टी खाजा घर’मा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई रंगेहात पक्राउ गरेको छ। उनीहरूका साथबाट ३४ हजार ६४७ रुपैयाँ नगद र तास बरामद गरिएको छ।

प्रहरीका अनुसार जुवा, सट्टाबाजी र अन्य गैरकानुनी क्रियाकलापमा संलग्नहरूमाथि निगरानी बढाइएको छ, र अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय