दाङ —दाङको घोराही उपमहानगरपालिका–१५ स्थित बिपी चोक नजिक रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट प्रहरीले अवैध हतियारसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्ने युवक सल्यानको कपुरकोट गाउँपालिका–३, फलाटे घर भई हाल लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९ वर्षीय अजय विक हुन्। जिल्ला प्रहरी कार्यालय दाङले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, अवैध हतियार तथा गोली लुकाएको भन्ने गोप्य सूचनाको आधारमा उनलाई गएराति पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, अजय विक सुत्ने खाटमुनि राखिएको कालो रङको ‘जोर्डन’ लेखिएको पछाडि भिर्ने झोलाभित्र लुकाइ राखिएको अवस्थामा ०.३२ बोर क्षमताको एउटा पेस्तोल, त्यसमा प्रयोग हुने चार राउन्ड गोली तथा सात राउन्ड क्षमताको म्यागेजिन फेला परेको हो।

हाल विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै हतियारको श्रोत र उद्देश्यको विषयमा विस्तृत अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय