
इटहरी ।सवारी दुर्घटना न्यूनीकरण र कारबाही प्रक्रियालाई प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीलाई ६४ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशद्वारा प्रदान गरिएका ती मोबाइल उपकरणहरू ट्राफिक कार्यालय, इटहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

उक्त मोबाइलको प्रयोगबाट ट्राफिक प्रहरीले सेवाग्राहीको लाइसेन्समा रहेको QR कोड स्क्यान गरी E–Challan प्रणालीमार्फत सवारी कारबाही प्रक्रिया सरल, छरितो र प्रभावकारी रूपमा गर्न सक्नेछ।
यस प्रविधिमैत्री प्रणालीमार्फत ट्राफिक सेवा नागरिक एपसँग जोडिने, डिजिटल कारबाही प्रणालीलाई प्रोत्साहन दिने, र दुर्घटना न्यूनीकरणमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ।



