
रौतहट । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटको प्रमुखको जिम्मेवारी एसपी चेतराज जोशीले सम्हालेका छन्। एक वर्षे कार्यकाल पूरा गरेका एसपी रामहरि अधिकारीको सरुवा भएपछि जोशीले नयाँ गण प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन्।
जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सरुवा भएका एसपी अधिकारीलाई धन्यवादसहित बिदाइ गरेका थिए भने नयाँ गण प्रमुख एसपी जोशीलाई स्वागत गरेका थिए।

कार्यक्रममा सीडीओ भुसालले एसपी अधिकारीले आफ्नो एक वर्षे कार्यकालमा सीमा सुरक्षा, अपराध नियन्त्रण, द्वन्द्व व्यवस्थापन तथा शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। विपद्का समयमा उद्धार तथा व्यवस्थापनमा समेत अधिकारीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उनले आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरे।
नयाँ गण प्रमुख एसपी जोशीलाई स्वागत गर्दै सीडीओ भुसालले रौतहटको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको समन्वय र सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
भारतसँग खुला सीमा जोडिएको रौतहटमा सशस्त्र प्रहरीको जिम्मेवारी सीमा सुरक्षामा मात्र सीमित छैन। सीमा अपराध तथा अवैध चोरी–पैठारी नियन्त्रण, विपद् व्यवस्थापन र जिल्लाको समग्र सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहँदै आएको छ।
नयाँ नेतृत्वका रूपमा जिम्मेवारी सम्हालेका एसपी जोशीका लागि सीमा सुरक्षा, अपराध नियन्त्रण तथा स्थानीय सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गर्नु प्रमुख चुनौतीका रूपमा देखिएको छ।
एसपी अधिकारीको सरुवा सोमबारदेखि लागू भएको हो। उनको बिदाइसँगै रौतहटमा सशस्त्र प्रहरीको नयाँ नेतृत्व सम्हालेका जोशीले जिल्लाका सुरक्षा चुनौतीलाई कसरी सम्बोधन गर्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।




