
बाँके । बोलबम यात्राका क्रममा बाँकेको डुडुवा गाउँपालिका–कम्दीस्थित राप्ती नदी किनारमा जम्मा भएका सयौँ भक्तजनको सुरक्षाका लागि सशस्त्र प्रहरीको विपद् उद्धार टोलीले रातभर निगरानी गरेको छ।
वर्षायाममा नदीको बहाव बढ्न सक्ने र भक्तजन नदीमा स्नान तथा जल संकलनका लागि जाने भएकाले सम्भावित डुबान तथा नदीजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले विशेष उद्धार उपकरणसहित टोली परिचालन गरेको हो।

सशस्त्र प्रहरी बल नेपालअन्तर्गत अस्थायी मनसुन प्रतिकार्य बेस फत्तेपुर कुण्डाको विपद् व्यवस्थापन टोली असई तीर्थ भाटको कमान्डमा कम्दीस्थित राप्ती नदी किनारमा रातभर तयारी अवस्थामा बसेको थियो। आकस्मिक घटना भए तत्काल उद्धार गर्न सकिने गरी आवश्यक उपकरणसहित टोलीलाई परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
नदीमा डुबेका व्यक्तिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण शम्शेरगन्जबाट गोताखोर टोलीसमेत कम्दी क्षेत्रमा खटाइएको थियो।
बोलबम यात्रीको सुरक्षा तथा यात्रालाई व्यवस्थित बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जिसी तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरीका प्रमुख भीमबहादुर चन्दलगायतको निर्देशन र समन्वयमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
आइतबार साँझदेखि नै राप्ती नदी किनारमा भक्तजनको चहलपहल बढेको थियो। भक्तजनहरू रातभर भजन–कीर्तनसहित जाग्राम बसेका थिए। सोमबार बिहान नदीमा स्नान गरी जल संकलन गरेपछि उनीहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका थिए।
सुरक्षा तथा उद्धार टोलीको निरन्तर निगरानीका कारण बोलबम यात्राका क्रममा कुनै अप्रिय घटना हुन नदिई भक्तजनहरूलाई सुरक्षित रूपमा धार्मिक गतिविधिमा सहभागी गराउन सकिएको सशस्त्र प्रहरीले जनाएको छ।
वर्षायाममा राप्ती नदीमा पानीको बहाव अनिश्चित हुने भएकाले ठूलो संख्यामा भक्तजन नदी किनारमा भेला हुने अवसरमा सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षाकर्मीले यसपटक विशेष सतर्कता अपनाएका हुन्।




