
काठमाडौं, ९ वैशाख । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकको अपेक्षाअनुसार सेवा प्रवाहमा कुनै पनि कमी कमजोरी हुन नदिन उच्च व्यावसायिकता र उत्कृष्ट आचरण अपनाउन सबै प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत समसामयिक विषयमा गरिएको सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी सेवा नागरिकमुखी, प्रभावकारी र उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले सरकारद्वारा लागू गरिएका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, आपराधिक गतिविधि रोकथामका लागि सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राख्न तथा आवश्यक सुरक्षा रणनीति अपनाउन निर्देशन दिनुभयो। लागूऔषध उत्पादन, ओसारपसार र कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउने तथा सेवनकर्तालाई लक्षित गरी सुधारात्मक कार्यक्रम सञ्चालन गर्न पनि उहाँले आग्रह गर्नुभयो।
सीमा नाकामा हुने आपराधिक गतिविधि र तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै उहाँले गुण्डागर्दीविरुद्ध थप कडाइका साथ प्रस्तुत हुन निर्देशन दिनुभयो। साथै फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउलाई प्रभावकारी बनाउन समेत उहाँले जोड दिनुभयो।
प्रहरी महानिरीक्षक कार्कीले परिवर्तनलाई आत्मसात् गर्दै समाजमा शान्ति र सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता र प्रभावकारिता अझ वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको छवि उकास्ने गरी उच्च व्यावसायिकता प्रदर्शन गर्न सबै प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ थियो।
उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राख्दै नागरिक सुनुवाइमार्फत प्रभावकारी सूचना प्रवाह गर्न र नागरिकले अनुभूति गर्ने गरी सेवा दिनुपर्ने उल्लेख गर्नुभयो। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनात्मक उद्देश्य प्राप्तिमा समर्पित हुन आग्रह गर्दै गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याइने चेतावनी समेत दिनुभयो।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले पनि समसामयिक विषयमा निर्देशन दिनुभएको थियो।
भर्चुअल कार्यक्रममा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, वरिष्ठ प्रहरी उपरीक्षक लगायतको उपस्थिति थियो। साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, तालिम केन्द्र, विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयसम्मका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।



