काठमाडौं –नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख तथा प्रवक्तामा हेरफेर गरिएको छ। सैनिक मुख्यालयले सहायकरथी राजाराम बस्नेतलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको हो।

पत्रकार सम्मेलनको क्रममा मन्तव्य व्यक्त गर्दै नवनियुक्त प्रवक्ता बस्नेतले नेपाली सेनाको सूचना प्रवाह प्रणालीलाई अझ पारदर्शी, विश्वासिलो र समयसापेक्ष बनाउने अठोट व्यक्त गरे। उनले पत्रकारहरूसँग सहकार्य गर्दै सेनासम्बन्धी सही र भरपर्दो सूचना समयमै सार्वजनिक गर्न संकल्प व्यक्त गरे।

“नेपाली सेनाको क्रियाकलापबारे जनतालाई यथार्थ जानकारी दिनु हाम्रो कर्तव्य हो,” बस्नेतले भने, “सूचनाको पारदर्शिता र संप्रेषणको सन्तुलन कायम गर्दै अघि बढ्नेछु।”

यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका  गौरवकुमार केसी आगामी आइतबारबाट पूर्वी पृतनाको निमित्त प्रमुखको रूपमा कार्यभार सम्हाल्ने भएका छन्। उनको नाम उपरथी पदमा बढुवाका लागि सिफारिस भइसकेको र केही समयमै उनी उपरथीमा बढुवा हुने सम्भावना रहेको सैनिक स्रोतले जनाएको छ। हाल पूर्वी पृतनाका पृतनापति उपरथी पवनराज घिमिरेको जङ्गी अड्डामा सरुवा हुने तयारी भएको छ।

नयाँ प्रवक्ता राजाराम बस्नेत यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको रूपमा कार्यरत थिए। उनी सूचना र जनसम्पर्कमार्फत नागरिक–सैनिक सम्बन्ध सुदृढ तुल्याउने रणनीतिक जिम्मेवारीमा अनुभवी मानिन्छन्।

सूचना तथा जनसम्पर्क निर्देशनालय नेपाली सेनाको महत्वपूर्ण निकाय हो, जसले सेनाको आधिकारिक धारणा प्रस्तुत गर्ने र सार्वजनिक संवादमार्फत संगठनको छवि निर्माण गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्छ। सेनाको प्रवक्ता प्रायः सो निर्देशनालयको निर्देशक रहने परम्परा रहिआएको छ।

प्रवक्ता बस्नेतले राष्ट्रको प्रमुख सुरक्षा संगठनको नेतृत्व तहको निकटतामा रही सूचना प्रवाह तथा सञ्चार समन्वयको संवेदनशील जिम्मेवारी सम्हाल्ने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय