काठमाडौं । नेपाल सरकारले “सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८३” जारी गर्दै नेपाली सेना सेवा नियमावली, २०७५ मा महत्वपूर्ण संशोधन गरेको छ। संशोधित व्यवस्थाअनुसार नेपाली सेनाको झण्डा तथा दर्ज्यानी चिन्हसम्बन्धी प्रावधान परिवर्तन गरिएको हो।

नयाँ नियमावलीले मूल नियमावलीको अनुसूची–४ हटाएर नयाँ अनुसूची–४ लागू गरेको छ। यससँगै अब नेपाली सेनाको झण्डामा राष्ट्रिय झण्डाको स्वरूपसमेत समावेश गरिने व्यवस्था गरिएको छ।

संशोधित प्रावधानअनुसार सिम्रिक (हरियो) रङको पृष्ठभूमिमा सुनौलो (पिताम्बर) किनारा रहनेछ। झण्डाको दायाँ भागमा राष्ट्रिय झण्डा अंकित हुनेछ भने बायाँतर्फ माथिल्लो भागमा सुनौलो अक्षरमा “नेपाली सेना” लेखिनेछ। सोही भागको तल रातो पृष्ठभूमिमा नेपाली सेनाको आधिकारिक चिन्ह (लोगो) राखिने व्यवस्था गरिएको छ।

त्यसैगरी, लोगोको तल नेपाली वीरताको प्रतीकका रूपमा चाँदी रङको क्रस खुकुरी रहनेछ। खुकुरीमुनि मसिनो सुनौलो घेराभित्र अब नयाँ आदर्श वाक्य “नेपाल रक्षार्थ सम्भवामि युगे युगे” लेखिनेछ। यसअघि प्रयोग हुँदै आएको “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने वाक्य हटाइएको छ।

‘नेपाल रक्षार्थ सम्भवामि युगे युगे’ को भावार्थ

संस्कृत भाषामा रहेको “नेपाल रक्षार्थ सम्भवामि युगे युगे” वाक्यले राष्ट्ररक्षाप्रति नेपाली सेनाको समर्पण र कर्तव्यनिष्ठ भावलाई व्यक्त गर्दछ।

शब्दगत अर्थअनुसारः

  • नेपाल = राष्ट्र नेपाल
  • रक्षार्थ = रक्षा गर्नका लागि
  • सम्भवामि = म जन्म लिन्छु / प्रकट हुन्छु
  • युगे युगे = हरेक युगमा, सधैं

यसको समग्र भावार्थ “नेपालको रक्षा गर्न म हरेक युगमा जन्म लिन्छु” भन्ने हुन्छ।

यस वाक्यले नेपाली सेनाको मूल भावना—राष्ट्ररक्षा, वीरता, अनुशासन, कर्तव्यनिष्ठा र निरन्तर समर्पण—लाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।

सरकारको यो संशोधनलाई नेपाली सेनाको संस्थागत पहिचानलाई राष्ट्रिय प्रतीकसँग अझ स्पष्ट र भावनात्मक रूपमा जोड्ने प्रयासका रूपमा हेरिएको छ। सैनिक वृत्तमा यस व्यवस्थाले राष्ट्रिय झण्डा र नेपाली सेनाबीचको संवैधानिक तथा भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय