
कपिलवस्तु, १४ जेठ । कपिलवस्तु नगरपालिका–३ स्थित महिता चोकमा सशस्त्र प्रहरी बलको गाडीले टेम्पोलाई ठक्कर दिँदा एक जना तीन वर्षीय बालकको मृत्यु भएको छ भने टेम्पो चालक गम्भीर घाइते भएका छन्। दुर्घटनामा अन्य आठ जना सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पोलाई बुधबार बिहान करिब ११ बजे सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको हो।

दुर्घटनामा कपिलवस्तु नगरपालिका–६ सेमरी निवासी अतिकूर रहमानका तीन वर्षीय छोरा महफुज मुसलमान गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल बुटवलस्थित चौराहा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, टेम्पो चालक कपिलवस्तु नगरपालिका–३ बरगदवाका ६० वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन्। उहाँको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनामा सामान्य घाइते भएका अन्य आठ जनालाई प्राथमिक उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच, दुर्घटनामा संलग्न सशस्त्र प्रहरीको गाडी र चालकलाई हालसम्म नियन्त्रणमा नलिइएको भन्दै पीडित परिवारले गुनासो गरेका छन्। मृतक बालकको शव पोस्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको छ।



