
लुम्बिनि । जिल्ला प्रहरी कार्यालय प्युठानले इलाका प्रहरी कार्यालय लुङ्बहानेका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) रामनारायण गुप्तालाई २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गर्दै सम्मान तथा पुरस्कृत गरेको छ।
प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादन, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा संगठनको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेको मूल्याङ्कनका आधारमा गुप्तालाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

गुप्तालाई जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीले एक कार्यक्रमबीच प्रशंसापत्रसहित सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो।
सम्मान ग्रहण गर्दै इन्सपेक्टर गुप्ताले प्राप्त सम्मानले आफूलाई आगामी दिनमा थप जिम्मेवार, सक्रिय र प्रभावकारी रूपमा प्रहरी सेवा प्रवाह गर्न प्रेरणा मिलेको बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय प्युठानले प्रहरी कर्मचारीको कार्यसम्पादन, जिम्मेवारीप्रतिको निष्ठा र सेवामा पुर्याएको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट प्रहरी छनोट गर्दै आएको जनाएको छ।




