
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो () ले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिका–१३ की ज्योति शाहीलाई पक्राउ गरेको छ।
शाहीले विभिन्न व्यक्तिले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई विभिन्न व्यक्तिका बैंक खातामार्फत कारोबार गर्ने गरेको सूचनाका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको थियो।

सीआईबीका अनुसार अनुसन्धानका क्रममा विदेशबाट प्राप्त रकमलाई स–साना भागमा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिका बैंक खातामा पठाई हुण्डीमार्फत कारोबार गरेको खुलेको छ।
शाहीले घरेलु तथा साना उद्योग कार्यालय, इटहरी, सुनसरीमा २०६८ भदौ १६ गते दर्ता गरेको ‘शाही मनि ट्रान्सफर’ नामक व्यवसायका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालन गरेको पाइएको सीआईबीले जनाएको छ।
कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा रहेका खातामार्फत १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसूरमा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट मंगलबार पक्राउ अनुमति लिइएको थियो। त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार धरानको खैरेनीबाट शाहीलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।




