
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीले नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने भएकाले व्यवहारमा शिष्टता, संयम र सेवाभावलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
त्रिपुरेश्वरमा असोज ५ गते बसमा आगजनी हुँदा चालक जलेर घाइते भएको घटनासहित काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा प्रहरी–नागरिक सम्बन्धका विषयमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेसँग भएको छलफलका क्रममा गजुरेलले यस्तो आग्रह गरेका हुन् ।

छलफलका क्रममा गजुरेलले ट्राफिक प्रहरीको काम सडकमा सवारी व्यवस्थापन र नियम कार्यान्वयनमा मात्र सीमित नभई नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा भएकाले प्रत्येक नागरिकसँग सम्मानजनक र मर्यादित व्यवहार आवश्यक रहेको बताए । उनले ट्राफिक नियम उल्लङ्घनका घटनामा कानुनअनुसार कारबाही गर्ने अधिकार प्रहरीसँग भए पनि त्यसक्रममा नागरिकको आत्मसम्मानमा असर नपर्ने गरी संयमित र शिष्ट व्यवहार गर्नुपर्नेमा जोड दिए ।
उनले ट्राफिक प्रहरीमाथि नागरिकबाट उठ्ने गुनासा तथा आर्थिक लेनदेनसम्बन्धी प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । ट्राफिक व्यवस्थापनमा हुने आर्थिक कारोबार तथा जरिवाना संकलनको प्रक्रियालाई थप पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
गजुरेलले ट्राफिक प्रहरीको काम कारबाहीप्रति नागरिकको विश्वास कायम राख्न पारदर्शिता र व्यावसायिकता महत्वपूर्ण हुने उल्लेख गर्दै कुनै पनि प्रकारको अनियमितता वा आर्थिक लेनदेनको आशंका उत्पन्न हुने अवस्था आउन नदिन संस्थागत रूपमा प्रभावकारी निगरानी र नियन्त्रणको व्यवस्था गर्नुपर्ने बताए ।
यस्तै, असोज ५ गते त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक जलेर घाइते भएको घटनाका विषयमा पनि छलफल भएको थियो । उक्त घटनाको अवस्था, घटनापछि अपनाइएको सुरक्षा व्यवस्था तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा र ट्राफिक व्यवस्थापनका उपायबारे समेत छलफल गरिएको बताइएको छ ।
गजुरेलले सार्वजनिक यातायात सञ्चालन हुने क्षेत्र तथा व्यस्त सडकमा यात्रु, चालक, पैदलयात्री र अन्य नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर ट्राफिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले सडक सुरक्षाका लागि ट्राफिक प्रहरी, स्थानीय प्रशासन, यातायात व्यवसायी तथा सरोकारवाला निकायबीच थप समन्वय आवश्यक रहेको बताए ।
छलफलमा एसएसपी काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षाका लागि प्रहरीले गरिरहेका काम, चुनौती र आगामी योजनाबारे जानकारी गराएको बताइएको छ । नागरिकका गुनासा सम्बोधन गर्दै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।
ट्राफिक प्रहरी सडकमा प्रत्यक्ष रूपमा नागरिकसँग सम्पर्कमा रहने सुरक्षा निकाय भएकाले उसको व्यवहार र कार्यशैलीले समग्र प्रहरी संगठनप्रतिको नागरिक धारणा निर्माणमा समेत प्रभाव पार्ने भएकाले सेवा प्रवाहमा शिष्टता, निष्पक्षता र पारदर्शितालाई प्राथमिकता दिनुपर्नेमा छलफलका क्रममा जोड दिइएको थियो ।




