
झापा । झापाको मेचीनगर नगरपालिका–७ भान्सा खोला (गैरीगाउँ) स्थित एक बंगुर फार्मभित्र गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ। अपहरण तथा शरीर बन्धकसम्बन्धी घटनाको अनुसन्धानका क्रममा प्रहरीले कंकाल बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जन अवाका अनुसार ललितपुरको साविक मिखेल, हाल महाङ्काल गाउँपालिका–१ स्थायी ठेगाना भएका दिलनाथ बजगाईं २०८१ कात्तिक २९ गतेदेखि मेचीनगर नगरपालिका–६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए। उनी बेपत्ता भएपछि उनकी श्रीमती तुलसा बुढा बजगाईंले प्रहरीमा निवेदन दिएकी थिइन्।

निवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा बजगाईंसँगै हिँड्ने गरेका उनका नजिकका साथीमाथि शंका गरेको थियो। म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय ‘राम’ भन्ने गुप्तबहादुर सिंहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले दिएको सूचनाका आधारमा प्रहरीले शंकास्पद स्थानमा उत्खनन गरेको हो।
सिंहले देखाएको स्थान मेचीनगर–७ भान्सा खोला (गैरीगाउँ) स्थित जयप्रसाद तिवारीको जग्गामा उनले सञ्चालन गर्दै आएको बंगुर फार्मभित्र स्थानीय नागरिक तथा जनप्रतिनिधिको रोहबरमा जेसिबी प्रयोग गरी उत्खनन गरिएको थियो। उत्खननका क्रममा मानव आकृति देखिने कंकाल फेला परेको डीएसपी अवाले बताए।
बरामद कंकाल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा पठाइएको छ। उक्त कंकाल बेपत्ता दिलनाथ बजगाईंकै हो वा होइन भन्ने यकिन गर्न शव परीक्षणपछि नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।




