कैलाली । सुदूरपश्चिम प्रदेशमा सडक सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले धनगढी–अत्तरिया ६ लेन सडक खण्डमा विशेष ट्राफिक निगरानी तथा सवारी चेकजाँच अभियान सञ्चालन गरेको छ।

प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीको कमाण्डमा सञ्चालन गरिएको अभियानअन्तर्गत सवारी साधनहरूको गति परीक्षण (स्पीड चेक), कागजात निरीक्षण तथा ट्राफिक नियम पालना गराउने कार्य गरिएको कार्यालयले जनाएको छ।

अभियानका क्रममा चालकहरूलाई ट्राफिक नियमको महत्त्वबारे जानकारी दिँदै सुरक्षित र जिम्मेवार यात्रा गर्न सचेतना समेत प्रदान गरिएको थियो।

प्रहरी उपरीक्षक नवराज कार्कीले सुदूरपश्चिम प्रदेशभर ट्राफिक व्यवस्थापनलाई थप अनुशासित, सुरक्षित र प्रभावकारी बनाउने अभियानलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना अपरिहार्य रहेको उल्लेख गर्दै सम्पूर्ण सवारी चालकलाई नियमको पूर्ण पालना गर्न आग्रह गर्नुभयो।

“सुरक्षित, जिम्मेवार र सभ्य यात्राको संस्कार विकास गर्नु आजको आवश्यकता हो। ट्राफिक नियमको पालना गरेमा दुर्घटना न्यूनीकरणसँगै यात्रालाई सुरक्षित बनाउन सकिन्छ,” एसपी कार्कीले बताउनुभयो।

नेपाल प्रहरीले सडक सुरक्षा सुदृढीकरण तथा दुर्घटना न्यूनीकरणका लागि प्रदेशका विभिन्न सडक खण्डहरूमा नियमित रूपमा ट्राफिक निगरानी, चेकजाँच र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय