
रोल्पा, २९ साउन । निरन्तरको वर्षासँगै रोल्पाको सुनछहरी गाउँपालिका–२ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी–२ स्थित फलबाङ्गका वीरबहादुर घर्तीमगरको घर पहिरोले पुरेको हो। पहिरोमा पुरिएर घरमै रहेकी ६५ वर्षीया लली घर्तीमगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। उक्त दुर्घटनामा परी सोही घरमा बस्दै आएका अन्दाजी ७० वर्षीय घरमुली वीरबहादुर घर्तीमगर र उनकी ६५ वर्षीया श्रीमती शनी घर्तीमगर पहिरोमा पुरिएर बेपत्ता भएका छन्।

यसैगरी, सुनछहरी–२ कै गिट्ठे भन्ने स्थानमा गएको अर्को पहिरोले ६० वर्षीय लादे घर्तीमगरको घर पुरिएको छ। घरसँगै पहिरोमा पुरिएर लादे घर्तीमगर पनि बेपत्ता भएको वडाध्यक्ष कृष्णबहादुर बुढाले बताउनुभयो।
हाल प्रहरी र स्थानीयको सहयोगमा बेपत्ता तीनै जनाको खोजी तथा उद्धार कार्य तीव्र रूपमा भइरहेको छ।
यसअघि रोल्पाकै थबाङमा गएको विनाशकारी पहिरोमा परी १० जनाको मृत्यु भएको थियो भने त्यहाँका तीन जना अझै बेपत्ता छन्। थबाङको त्रासदी सेलाउन नपाउँदै सुनछहरीमा फेरि पहिरोले थप मानवीय क्षति पुर्याएको हो।




