
धनगढी । कैलालीको धनगढीमा सवारीसाधन चेकजाँचमा खटिएका तीन प्रहरी कर्मचारीलाई मोटरसाइकलले ठक्कर दिँदा उनीहरू घाइते भएका छन्।
बुधबार साँझ धनगढी उपमहानगरपालिका–२ स्थित पेट्रोल पम्प नजिकै संयुक्त रूपमा सवारी चेकजाँच गरिरहेका प्रहरीलाई तीव्र गतिमा आएको से ३ प ८९५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।

दुर्घटनामा प्रहरी सहायक हवलदार ३८ वर्षीय उज्जवलसिंह साउद, प्रहरी हवलदार ३८ वर्षीया राधिका शाही र प्रहरी सहायक हवलदार ३५ वर्षीया कमला खत्री घाइते भएका छन्। उनीहरू तीनै जना सुदूरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घाइतेमध्ये सहायक हवलदार साउदको अवस्था गम्भीर छ। उनको एउटा खुट्टा भाँचिनुका साथै टाउको र छातीमा समेत चोट लागेको छ। उनको धनगढीस्थित नवजीवन अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
त्यस्तै, हवलदार शाहीको छाती र खुट्टामा चोट लागेको छ भने सहायक हवलदार खत्रीको छाती र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। शाहीको अवस्था मध्यम र खत्रीको अवस्था सामान्य रहेको छ।
प्रहरीका अनुसार मोटरसाइकल कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का २३ वर्षीय आशिष चौधरीले चलाएका थिए। चालक चौधरीले मदिरा सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी तिमिल्सिनाले बताए।
घटनापछि मोटरसाइकल चालक चौधरी र मोटरसाइकलमा पछाडि सवार कैलालीको बर्दगोरिया गाउँपालिका–६ का १७ वर्षीय समिर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





